देउवाको स्पष्टिकरण : सम्पत्ति सम्बन्धी आरोप असत्य, ‘मेरो जीवन खुला किताब’

977
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारसँग सम्बन्धित सम्पत्तिबारे सार्वजनिक भइरहेका विवरण “भ्रामक र झुटा” भएको दाबी गरेका छन्। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको भन्ने चर्चा सार्वजनिक भइरहेका बेला देउवाले आफ्नो जीवन “खुला पुस्तक” जस्तै रहेको बताएका हुन्।

देउवाले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा आफू र आफ्नो परिवारमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको भन्ने जानकारी सञ्चारमाध्यमबाट थाहा पाएको उल्लेख गरेका छन्। उनले सार्वजनिक पदमा रहँदा नेपालका प्रचलित कानुनअनुसार सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गर्दै आएको बताएका छन्।

उनले लोकतान्त्रिक शासन व्यवस्था, विधिको शासन, स्वतन्त्र न्यायपालिका, पारदर्शिता र राज्यका अंगहरूको स्वतन्त्रताका पक्षमा आफूले जीवनभर संघर्ष गरेको उल्लेख गरेका छन्। भ्रष्टाचार नियन्त्रणका लागि कानुनी र संस्थागत संरचना निर्माणमा आफ्नो भूमिका रहेको दाबी गर्दै देउवाले आफू गृहमन्त्री रहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लागू भएको तथा प्रधानमन्त्रीत्वकालमा भ्रष्टाचार निवारण ऐन, २०५९ कार्यान्वयनमा आएको स्मरण गराएका छन्।

देउवाले हाल आफू र आफ्नो परिवार स्वास्थ्य उपचारका लागि विदेशमा रहेको र उपचार प्रक्रिया जारी रहेको जानकारी पनि दिएका छन्।

वक्तव्यको अन्त्यमा उनले सम्पत्तिसम्बन्धी विषयमा अतिरञ्जित विवरण सार्वजनिक भएको दाबी गर्दै यस्ता प्रचारबाट भ्रममा नपर्न सर्वसाधारणसँग अपिल गरेका छन्। “वास्तविकता समयक्रमसँगै खुल्दै जानेछ,” देउवाले वक्तव्यमा उल्लेख गरेका छन्।

सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा सम्बन्धित सरकारी निकायबाट औपचारिक धारणा आउन बाँकी रहेकाले अब अनुसन्धानको वास्तविक अवस्था र आधिकारिक विवरणतर्फ चासो केन्द्रित भएको छ।

तपाईको बिचार

सम्बन्धित खबर