इप्पान सरोकारवाला होइन साझेदार निकाय हो : ऊर्जामन्त्री श्रेष्ठ

894

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बिराजभक्त श्रेष्ठले ऊर्जा उत्पादकहरुको छाता संस्था इप्पानलाई सरोकारवाला निकाय भन्दा पनि साझेदार संस्थाको रुपमा अघि बढाउन चाहेको बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलसँग बुधबार सिंहदरबारमा छलफल गर्दै ऊर्जामन्त्री श्रेष्ठले नेपालको ऊर्जा प्रणालीमा राज्यको भन्दा बढी योगदान दिएको निजी क्षेत्रलाई सरोकारवाला निकायको रुपमा नभएर साझेदार निकायकै रुपमा व्यवहार गरिने बताएका हुन् ।

नवगठित सरकार र सरकारको एकल नेतृत्वकर्ता दलको प्राथमिकतामा ऊर्जालाई निकै ठूलो महत्व दिइएकोले आगामी बजेटबाट केही राम्रा कार्यक्रम लागू गरिने पनि उनले बताए । व्यक्तिले सिस्टम र संस्था चलाउने नभएर, सिस्टमले नै व्यक्ति र संस्था चलाउने गरि सुधारका काम गर्न चाहेको भन्दै मन्त्री श्रेष्ठले रिसर्च एण्ड डेभलपमेन्ट (आर एण्ड डी) नीति लागू गर्ने बताए ।

हिजोका दिनमा सरकारले मात्र विद्युत उत्पादन गर्दा कति बिजुली उत्पादन भएको थियो भन्ने कुरा तथ्याङ्कले पुष्टी गरिसकको भन्दै उनले अब एउटामात्र खरिदकर्ताले राज्य र निजी क्षेत्रको मर्मअनुसार काम गर्न सम्भव नभएकोले मल्टिपल बायरको पक्षमा आफू रहेको उनले स्पष्ट पारे ।

जलविद्युत आयोजनासँगै प्रसारणलाइन निर्माणमा समेत स्थानीयको अवरोध आउनुमा जनचेतनाको कमी पनि एउटा कारण भएकोले सरकार र निजी क्षेत्र मिलेर जनचेतनामुलक कार्यक्रम गर्नुपर्नेमा उनले जोड दिए । ऊर्जा पूर्वाधार समयमै बनेन भने उद्योगी मात्रै नभएर हाम्रो देश पनि बुब्छ भन्ने कुरा बुझाउनु पर्ने र पब्लिक सँग अझ घनिभुत सम्बन्ध बनाएर अघि बढ्नको लागि राज्यका तर्फबाट के कस्तो नीति आवश्यक पर्छ त्यसमा सहयोग रहने पनि मन्त्री श्रेष्ठले बताए ।

तपाईको बिचार

सम्बन्धित खबर