रास्वपामा एकता र देश केन्द्रित राजनीति आवश्यक : रवि लामिछाने

983

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र एकता, निडरता र देश केन्द्रित राजनीतिलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

बुधबार आयोजित रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन सम्बोधन गर्दै उनले गुटगत राजनीति त्याग्न कार्यकर्तालाई आग्रह गरे। सबै नेता तथा कार्यकर्ताहरू एउटै छानामुनि एकताबद्ध हुनुपर्नेमा उनले जोड दिए।

लामिछानेले भने, अब समस्या देखिएपछि त्यसलाई समाधान गर्न तत्काल सक्रिय हुनुपर्ने समय आएको छ। “पुराना राजनीतिक दललाई जस्तै लामो समय जनताले हामीलाई पर्खिने छैनन्,” उनले चेतावनी दिए।

उनले गुटबन्दीबाट कांग्रेस र एमालेजस्ता ठूला दललाई चुनौती दिन नसकिने उल्लेख गर्दै पार्टीको प्रतीक ‘घण्टी’मुनि सबै एकजुट हुन सक्ने बताए।

उनका अनुसार विभिन्न शक्ति एक ठाउँमा उभिँदा पनि आफूहरू नडराएको र नहल्लिएको कारण नागरिकको चेतनामाथिको विश्वास हो। उनले आगामी चुनावमार्फत आफ्नो शक्ति प्रदर्शन गर्ने तयारी रहेको संकेत पनि गरे।

“अब परिणाम देखाउने समय आएको छ। चुनाव आएपछि हामी आफ्नो शक्ति देखाउँछौँ,” उनले भने।

लामिछानेले व्यक्तिगत स्वार्थ र पदकेन्द्रित सोच त्याग्न कार्यकर्तालाई सचेत गराउँदै देश केन्द्रित राजनीति गर्न नसके अवस्था पुराना दलभन्दा पनि खराब हुन सक्ने बताए।

“आफ्नो पद, हैसियत वा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशलाई केन्द्रमा राख्नुपर्छ,” उनले जोड दिए।

तपाईको बिचार

सम्बन्धित खबर