काठमाडौँ, १ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय क्याडेट कोर (एनसीसी) जस्ता कार्यक्रमहरूले युवामा राष्ट्रियता, देशभक्ति, नेतृत्व, आत्मविश्वास र राष्ट्रसेवा जस्ता गुण विकास गर्ने बताउनुभएको छ।
एनसीसी युथ एक्सचेन्ज प्रोग्रामका सहभागीहरूका लागि शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, “यस प्रकारका कार्यक्रमले विभिन्न देशका युवालाई एकत्रित गरी उनीहरूलाई जिम्मेवार, अनुशासित, र भविष्यका प्रभावशाली नेतृत्वकर्ता र असल नागरिकको रूपमा विकास गर्ने काम गर्छ। यो युवाका लागि सकारात्मक अवसर हो।”
राष्ट्रपति पौडेलले थप्नुभयो कि यस्ता आदान–प्रदान कार्यक्रमले नेपाली सेनाको मित्र राष्ट्रसँगको सम्बन्ध बलियो बनाउने मात्र होइन, क्याडेटहरूबीच सीप, संस्कृति र परम्पराको आदान–प्रदानको अवसर पनि प्रदान गर्छ।
उहाँका अनुसार, नेपाली क्याडेटहरूले भारत, भुटान, पाकिस्तान र माल्दिभ्समा भएका युवा आदान–प्रदान कार्यक्रममा भाग लिएर आफूलाई थप विकसित गर्ने अवसर पाएका छन्। यस्ता कार्यक्रमले सामाजिक, आर्थिक र सांस्कृतिक यथार्थबारे बुझ्न सहयोग पुर्याउँछ।
“यस प्रकारको युवा आदान–प्रदान कार्यक्रमले हाम्रो सम्बन्धलाई अझ सुमधुर बनाउँदै विश्वलाई एक साझा समुदायको रूपमा हेर्ने सन्देश प्रवाह गर्नेछ भन्ने मेरो विश्वास छ,” राष्ट्रपति पौडेलले समापनमा भन्नुभयो।
तपाईको बिचार