रास्वपा संघीयताविरोधी शक्ति हो, मधेशबाट हराउनुपर्छ : सिके राउत

913

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई संघीयताविरोधी शक्ति भएको आरोप लगाउँदै मधेशबाट यस्ता पार्टीलाई पराजित गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राउतले निर्वाचनको समयमा व्यक्त हुने व्यक्तिगत अभिव्यक्तिभन्दा पार्टीको आधिकारिक नीतिले वास्तविक चरित्र देखाउने बताएका छन्। उनले लेखेका छन्, “पार्टीका कुनै एक व्यक्तिले मधेशको मत तान्न निर्वाचनको मुखमा दिएको अभिव्यक्तिले चल्ने होइन, पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले पारित गरेको नीतिले चल्ने हो।”

राउतले रास्वपाले संघीयता खारेज गर्ने एजेन्डा निरन्तर अघि बढाउँदै आएको दाबी गर्दै त्यसलाई गम्भीर विषयको रूपमा लिनुपर्ने बताएका छन्। “संघीयता खारेज गर्नु रास्वपाको निरन्तरको एजेन्डा रहँदै आएको छ। यो पार्टीले बैठकबाट निर्णय नै गरेको कुरा हो,” उनले भनेका छन्।

उनका अनुसार संघीयताविरोधी शक्तिलाई पराजित गर्दै अघि बढ्नु नै मधेशी शहीदप्रति सच्चा सम्मान हुनेछ। “यसर्थ मधेश यी संघीयताविरोधी शक्तिलाई पराजित गर्दै अगाडि बढ्नेछ, त्यो नै मधेशी शहीदको सम्मान हुनेछ,” राउतको भनाइ छ।

यसअघि सत्ता गठबन्धनमा रहँदा राउतले रास्वपा सभापति रवि लामिछानेमाथि अन्याय भएको भन्दै सहानुभूति व्यक्त गरेका थिए। तर पछिल्लो समय जनकपुरधाममा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको सक्रियता बढेपछि राउतले रास्वपाका मुद्दा तथा नेताहरूका अभिव्यक्तिमाथि लगातार आलोचना गर्दै आएका छन्।

तपाईको बिचार