शहीदहरूको बलिदानबिनै लोकतन्त्र सम्भव थिएन : अध्यक्ष ओली

851

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले शहीद दिवसको अवसरमा श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली जनताले भोगिरहेको स्वतन्त्रता शहीदहरूको बलिदानको प्रतिफल भएको बताउनुभएको छ।
ओलीले सामाजिक सञ्जालमा जारी सन्देशमा भन्नुभयो, “आजको समयमा शहीद दिवस क्यालेन्डरको एउटा सामान्य मिति जस्तो देखिए पनि यसको पछाडि ठूलो संघर्ष र त्याग लुकेको छ।”

उहाँले वि।सं। १९९७ मा राणा शासनको विरुद्ध प्रजातन्त्रको आन्दोलनमा मृत्युदण्ड भोगेका अमर शहीदहरू – शुकराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको योगदानको स्मरण गर्नुभयो। ओलीका अनुसार यी शहीदहरूको बलिदानले नै आजको लोकतन्त्र सम्भव भएको हो।

अध्यक्ष ओलीले निरंकुश शासनको अन्त्य गरी लोकतान्त्रिक अधिकार स्थापित गर्ने आन्दोलनको बीउ शहीदहरूले रोपेको स्मरण गर्दै भन्नुभयो कि आजको समाजले पाएको लोकतान्त्रिक अधिकार कम्युनिस्ट र कांग्रेसको संयुक्त आन्दोलनको महत्वपूर्ण उपज हो।

उहाँले शहीदहरूको बलिदानलाई सधैं सम्झिने र देशको राष्ट्रिय स्वाधीनता तथा लोकतन्त्रको रक्षाका लागि प्रतिबद्ध रहने सङ्कल्प व्यक्त गर्नुभयो।

तपाईको बिचार

सम्बन्धित खबर