शहिदको त्यागकै कारण लोकतन्त्र सम्भव भयो : नेपाली कांग्रेस

759

काठमाडौँ । नेपाली कांग्रेसले शहिद दिवसको अवसरमा देशका लागि आफ्नो अमूल्य जीवन आहुति दिने सम्पूर्ण वीर शहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। कांग्रेस केन्द्रीय कार्यालयले सोमबार जारी गरेको सन्देशमा शहिदहरूको त्याग, बलिदान र आदर्शकै कारण आज नेपाल लोकतन्त्र र स्वतन्त्रताको युगमा प्रवेश गर्न सफल भएको उल्लेख गरिएको छ।
विज्ञप्तीमा २००७ सालको जनक्रान्तिदेखि विभिन्न कालखण्डमा भएका जनआन्दोलन, संघर्ष र विद्रोहका क्रममा शहादत प्राप्त गर्ने सम्पूर्ण शहिदहरूको योगदान इतिहासमा अमर रहने जनाइएको छ। शहिदहरूले देश र जनताको अधिकारका लागि आफ्नो जीवन समर्पण गरेकै कारण आज नागरिकले लोकतान्त्रिक अधिकार उपभोग गर्न पाएको कांग्रेसको भनाइ छ।
शहिदहरूले देखाएको त्याग, साहस र आदर्शलाई आत्मसात् गर्दै शान्त, समुन्नत र समृद्ध राष्ट्र निर्माणतर्फ अघि बढ्नु आजको पुस्ताको साझा दायित्व भएको पनि सन्देशमा उल्लेख छ। शहिद दिवसको अवसरमा उनीहरूको सपना पूरा गर्ने र देखाएको बाटोमा दृढतापूर्वक हिँड्ने संकल्प गरिएको छ।
नेपाली कांग्रेसको नेतृत्वमा संविधानसभामार्फत निर्माण भएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले जनअधिकार सुनिश्चित गरेको जनाउँदै त्यसको प्रभावकारी कार्यान्वयन, संरक्षण र समयानुकूल परिमार्जन गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सामूहिक प्रयासबाट ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ को लक्ष्य हासिल गर्न प्रेरणा मिल्ने विश्वास पनि व्यक्त गरिएको छ।
विज्ञप्तीमा शहिदहरूको बलिदानलाई केवल स्मरणमा सीमित नराखी व्यवहारमा उतार्नुपर्ने आवश्यकता औंल्याइएको छ।

तपाईको बिचार

सम्बन्धित खबर