सहिदहरूको बलिदानबाट प्राप्त लोकतन्त्रको रक्षा गर्न सबै एकजुट हुनुपर्छ : रास्ट्रपति पौडेल

805


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सहिद दिवस २०८२ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि जीवन आहुति दिने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।
राष्ट्रपति भवन महाराजगञ्जबाट जारी सन्देशमा उहाँले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठलगायत ज्ञात–अज्ञात अमर सहिदहरूको बलिदान नेपाली इतिहासको अमूल्य धरोहर भएको उल्लेख गर्नुभएको छ।
राष्ट्रपतिले निरंकुश तथा तानाशाही शासन व्यवस्थाविरुद्ध विभिन्न कालखण्डमा भएका आन्दोलनहरूमा सहिदहरूले दिएको योगदानकै कारण आज नेपाली जनता सार्वभौमसत्ता सम्पन्न नागरिक बन्न सफल भएको बताउनुभयो। हरेक वर्ष फागुन १६ गते सहिद दिवसका रूपमा मनाइनु उनीहरूको बलिदानप्रतिको सम्मानको प्रतीक भएको उहाँको भनाइ छ।
सन्देशमा राष्ट्रपति पौडेलले सहिदहरूको सपना साकार पार्न राजनीतिक दल, आम नागरिक र सबै सरोकारवाला पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभएको छ। सहिदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थामार्फत शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नु नै सच्चा श्रद्धाञ्जली हुने उहाँले उल्लेख गर्नुभएको छ।
अन्त्यमा राष्ट्रपति पौडेलले सहिदहरूको बलिदानको उच्च मूल्याङ्कन गर्दै उनीहरूको आकांक्षा पूरा गर्न आ–आफ्नो स्थानबाट इमानदारीपूर्वक भूमिका निर्वाह गर्न यो दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

तपाईको बिचार

सम्बन्धित खबर