काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्र बढ्दै गएको अन्तरद्वन्द्व, गुटबन्दी र असहिष्णु राजनीतिक संस्कृतिप्रति कडा चेतावनी दिनुभएको छ। आगामी निर्वाचन नजिकिँदै गर्दा पार्टीभित्रै देखिएको विग्रहलाई उहाँले ‘यदुवंशी विनाश’ को संज्ञा दिनुभएको हो।
सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै उहाँले अहिलेको कलहलाई ‘यदुवंशी विनाश’ को संज्ञा दिनुभएको छ, जहाँ आफ्नै आन्तरिक लुछाचुँडीले अस्तित्व नै खतरामा पर्ने बताउनुभयो ।
पार्टी एकतालाई रेलको यात्रासँग तुलना गर्दै भण्डारीले सबैलाई एउटै रेलमा चढाउने प्रयास गर्दागर्दै समय घर्किसकेको र यही प्रवृत्ति कायम रहे दुवै पक्ष रित्तो हुने खतरा औंल्याउनुभएको छ। उहाँले पछिल्लो समय राजनीतिमा हाबी हुँदै गएको गालीगलौज र सामाजिक सञ्जालमार्फत गरिने चरित्र हत्याको प्रवृत्तिलाई ुरोगीु मानसिकता भन्दै यसले मुलुक र पार्टी कसैको हित नगर्ने स्पष्ट पार्नुभएको छ।
विगतमा कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा जस्ता शीर्ष नेताहरूबीचको विवादमा आफूले समन्वयकारी भूमिका खेलेको स्मरण गर्दै उहाँले वर्तमानको संवादहीनता र विग्रहप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ। निर्वाचनको बेला आफ्नै घर भत्काएर जनमत बटुल्न खोज्नु आत्मघाती हुने उहाँको ठहर छ।
समय अझै बाँकी रहेको उल्लेख गर्दै भण्डारीले सबैलाई विवेकमा फर्कन, आत्मसमीक्षा गर्न र विनाश होइन निर्माणको बाटो रोज्न आग्रह गर्नुभएको छ।
“यो अवस्थाका लागि कुनै एक व्यक्ति मात्र होइन, हामी सबै दोषी छौँ,” भन्दै उहाँले सामूहिक जिम्मेवारी स्वीकार गर्ने राजनीतिक संस्कृतिको आवश्यकता औंल्याउनुभएको छ।
तपाईको बिचार