काठमाडौं । नेकपा (एमाले) का नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विश्व राजनीतिमा बढ्दै गएको ुबाहुबलु को प्रयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता ज्ञवालीले नियममा आधारित विश्व व्यवस्था कमजोर हुँदै जाँदा साना र प्राकृतिक स्रोतले सम्पन्न राष्ट्रहरू गम्भीर जोखिममा परेको बताउनुभएको हो।
उहाँले संयुक्त राष्ट्र संघ जस्ता अन्तर्राष्ट्रिय संस्थाहरू पछिल्लो समय निरीह र निष्प्रभावी बन्दै गएको टिप्पणी गर्नुभएको छ। नियममा आधारित विश्व व्यवस्थाको ठाउँ बाहुबलमा आधारित व्यवस्थाले लिँदै जानु साना, संवेदनशील भू(अवस्थितिमा रहेका र दुर्लभ प्राकृतिक सम्पदायुक्त राष्ट्रका लागि जोखिमपूर्ण अवस्था भएको उहाँको ठम्याइ छ।
भेनेजुएलामा भइरहेको अमेरिकी हस्तक्षेपको सन्दर्भ जोड्दै नेता ज्ञवालीले यसले राष्ट्रहरूको सार्वभौमसत्ता, स्वनिर्णयको अधिकार र स्वाधीनतामाथि गम्भीर चुनौती थपेको उल्लेख गर्नुभएको छ। यस्ता वैदेशिक हस्तक्षेपले विश्वको राजनीतिक सन्तुलन र मुलुकहरूको स्वतन्त्रतामा आँच पुग्ने उहाँले बताउनुभएको छ।
सोमबार बस्ने संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को आकस्मिक बैठकले यस विषयमा निर्णायक भूमिका खेल्न सक्नुपर्ने भए पनि शक्तिशाली राष्ट्रका कारण त्यो सम्भव हुनेमा उहाँले शंका व्यक्त गर्नुभएको छ। शक्ति राष्ट्रहरूसँग ‘भिटो’ रूपी घँघारुको लौरो हमेशा हातमै हुने भएकाले राष्ट्र संघको बैठकबाट धेरै अपेक्षा गर्ने ठाउँ नरहेको ज्ञवालीले टिप्पणी गर्नुभएको छ।
तपाईको बिचार