काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेलले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन सम्पन्न भइसकेको सन्दर्भमा भ्रम सिर्जना गर्ने र अनावश्यक रूपमा तरंगित हुने अभिव्यक्तिबाट टाढा रहन नेता–कार्यकर्तालाई आग्रह गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेता पोखरेलले महाधिवेशनमा उठेका छलफल, प्रतिस्पर्धा र मतभेदलाई सामान्य राजनीतिक प्रक्रिया भएको उल्लेख गर्नुभएको छ। महाधिवेशनअघि र दौरान भएका बहसलाई लिएर अहिले केही साथीहरू तरंगित बनेर सार्वजनिक प्रतिक्रिया दिइरहनु चिन्ताजनक भएको उहाँको भनाइ छ।
उहाँले विगतमा पार्टीभित्र देखिएका वहस र विवादले नकारात्मक तथा नोक्सानदायी परिणाम दिएको स्मरण गराउँदै ती अनुभवबाट पाठ सिक्नुपर्नेमा जोड दिनुभयो। “विगतका दुर्भाग्यपूर्ण अध्यायको पुनरावृत्ति हुनु हुँदैन,” उहाँले लेख्नुभएको छ, “संस्थागत निर्णय र महाधिवेशनबाट निर्वाचित नेतृत्वको विरोधमा कसैको काम लाग्दैन।”
नेता पोखरेलले पार्टीभित्र असहमति र आलोचना स्वाभाविक भए पनि त्यसलाई अस्वाभाविक ढंगले प्रस्तुत गर्नु उचित नहुने स्पष्ट पार्नुभएको छ। आत्मसम्मान खोज्नु स्वाभाविक भए पनि कसैलाई काखा–पाखा नगरियोस् भन्ने अपेक्षा सबैको रहेको उहाँको भनाइ छ।
उहाँले पार्टीलाई मजबुत बनाउन विधि र प्रक्रिया अनुसार भएका संस्थागत निर्णयको निशर्त पालना गर्नुपर्ने, पार्टी एकतालाई कमजोर बनाउने गतिविधिको सशक्त विरोध गर्नुपर्ने र कार्यकर्ताको स्वाभिमान तथा आत्मसम्मानको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो।
“भ्रममा परेर तरंगित नबनौँ, सही कुरा बुझौँ,” उहाँले अपिल गर्दै भन्नुभएको छ, “यसै आधारमा पार्टी नेतृत्वको प्रतिष्ठा जोगाउन सकिन्छ र नेकपा एमाले लाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न सकिन्छ।”
तपाईको बिचार