काठमाडौं । मेडिकेयर हस्पिटल लिमिटेडको २९औँ वार्षिक साधारण सभा अध्यक्ष प्रदीपकुमार यादवको अध्यक्षतामा शनिबार काठमाडौंको धुम्बाराहीस्थित रमादा होटल (Ramada by Wyndham) मा सम्पन्न भएको छ।
साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनलगायतका वित्तीय विवरण पारित गर्नुका साथै शेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत अनुमोदन गरेको छ।
सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफा तथा सो अवधिसम्म कायम रहेको सञ्चित रकमबाट शेयरधनीलाई चुक्ता पुँजीको ३१.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। करसहित वितरण गरिने उक्त लाभांशको कुल रकम १४ करोड २१ लाख ५ हजार ५० रुपैयाँ रहेको छ। यस निर्णयसँगै कम्पनीका शेयरधनीले उक्त आर्थिक वर्षको मुनाफाबाट आकर्षक नगद प्रतिफल प्राप्त गर्ने भएका छन्।
त्यसैगरी, सभाले आर्थिक वर्ष २०८३/८४ का लागि टी.आर.एस. एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई कम्पनीको लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ। सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गरेको हो।
प्रदीपकुमार यादवको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ। सभाले यादवलाई अध्यक्षमा नियुक्त गर्दै विनयकुमार श्रेष्ठ, खेमराज लामिछाने, महल सागर श्रेष्ठ र दिनुका पोखरेल पुरानलाई सञ्चालकमा नियुक्त गरेको हो।
तपाईको बिचार