रसुवाको बाढीपीडितका लागि डब्ल्युएचओले औषधि र आपत्कालीन टेन्ट पठाउने

909

काठमाडौँ। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीबाट प्रभावितका लागि आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउने भएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँगको कुराकानीपछि डब्ल्युएचओले बाढी प्रभावित करिब एक हजार जनालाई पुग्ने आधारभूत औषधि तथा स्वास्थ्य उपकरण पठाउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। प्रभावित क्षेत्रमा २४ वर्गमिटर क्षेत्रफलका १५ वटा आपत्कालीन टेन्टसमेत पठाइने मन्त्रालयले जनाएको छ।

बाढी प्रभावितको उपचारका लागि काठमाडौँस्थित वीर अस्पताल र ट्रमा सेन्टरमा १०० वटा आपत्कालीन शय्या छुट्याइएको मन्त्रालयले जनाएको छ। बाढीमा घाइते भएका तीन जनालाई उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइसकिएको पनि मन्त्रालयको भनाइ छ।

आपत्कालीन स्वास्थ्य सेवा प्रभावकारी बनाउन काठमाडौँस्थित संघीय अस्पताल, रक्तसञ्चार केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयसँग समेत समन्वय भइरहेको छ।

त्यसैगरी नेपाल रेडक्रस, लायन्स र नेपाल स्काउटसँग पनि राहत तथा आपत्कालीन स्वास्थ्य सेवाका लागि आवश्यक समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।

बाढीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम न्यूनीकरण तथा घाइतेको उपचारलाई प्राथमिकतामा राखेर आवश्यक स्वास्थ्य जनशक्ति, औषधि तथा उपकरण व्यवस्थापन भइरहेको मन्त्रालयले जनाएको छ।

तपाईको बिचार

सम्बन्धित खबर