काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सत्ताको जिम्मेवारीमा पुगेपछि उनीहरूबारे समाजमा रहेका भ्रम क्रमशः हट्न थालेको टिप्पणी गरेका छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले सत्ता बाहिर रहँदा बालेन र रविलाई लिएर राजनीतिक वृत्तमा धेरै ‘भ्रम’ र ‘सपना’ को खेती भएको उल्लेख गरेका छन्। तर, उनीहरू स्वयं जिम्मेवारीमा पुगेपछि ती भ्रमहरू विस्तारै चिर्दै यथार्थ स्पष्ट हुँदै गएको उनको भनाइ छ।
पोखरेलले लेखेका छन्, “बालेन र रविहरूको हातमा सत्ताको बागडोर नपुगुन्जेल राजनीतिक वृत्तमा अनेकौं भ्रम र सपनाहरूको खेती तीव्र थियो। तर, उनीहरू स्वयं सत्ताको कुर्सीमा पुगेपछि आम जनताका अगाडि भ्रमका पर्दाहरू उठ्दै जाने र यथार्थ बुझ्ने उपयुक्त आधार तयार भएको छ।”
उनले लोकप्रियतावाद (पपुलिज्म) को वास्तविक क्षमता सत्ता सञ्चालनमार्फत मात्रै परीक्षण हुने जिकिर गरेका छन्। “पपुलिज्मको वास्तविक क्षमता परीक्षण हुन सत्ताको जिम्मेवारी नै पूरा गर्नुपर्ने हुन्छ,” उनले लेखेका छन्, “यो नै वर्तमान परिस्थितिको सकारात्मक पक्ष हो।”
तपाईको बिचार