नेपालमा प्रतिभाशाली बक्सरको कमी छैन, सही लगानी भए अन्तर्राष्ट्रिय सफलता सम्भव : महासचिव भण्डारी

593

नेपाल बक्सिङ पछिल्ला केही वर्षयता सकारात्मक दिशामा अघि बढिरहेको छ। राष्ट्रिय प्रतियोगितादेखि अन्तर्राष्ट्रिय सहभागितासम्म नेपाली बक्सरहरूको उपस्थिति बढ्दै गएको छ। तर आधुनिक पूर्वाधार, वैज्ञानिक प्रशिक्षण र पर्याप्त लगानीको अभाव अझै चुनौतीकै रूपमा रहेको छ।

हालै सम्पन्न राष्ट्रिय बक्सिङ प्रतियोगितापछि नेपाली बक्सिङको वर्तमान अवस्था, अन्तर्राष्ट्रिय तयारी, खेलाडीका समस्या, महिला बक्सिङको विकास र महासंघका आगामी योजनाबारे नेपाल बक्सिङ महासंघका महासचिव मान भण्डारीसँग गरिएको कुराकानीको सम्पादित अंश :

नेपाल बक्सिङको वर्तमान अवस्थालाई तपाईं कसरी मूल्यांकन गर्नुहुन्छ ?

नेपाल बक्सिङ विगत केही वर्षदेखि सकारात्मक दिशामा अघि बढिरहेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलाडीहरूको सहभागिता बढेको छ र नयाँ प्रतिभाहरू पनि निरन्तर उत्पादन भइरहेका छन्। विशेषगरी महिला बक्सिङले उल्लेखनीय प्रगति गरेको छ। यद्यपि आधुनिक पूर्वाधार, वैज्ञानिक प्रशिक्षण, अन्तर्राष्ट्रिय एक्सपोजर र आर्थिक स्रोतको अभाव अझै चुनौतीकै रूपमा रहेको छ।

हालै सम्पन्न राष्ट्रिय बक्सिङ प्रतियोगिताबाट महासंघले के–कस्ता उपलब्धि र चुनौतीहरू पहिचान गर्‍यो ?

राष्ट्रिय प्रतियोगिताले देशभरका प्रतिभावान खेलाडीहरूको क्षमता पहिचान गर्ने अवसर प्रदान गर्‍यो। प्रदेश र विभागीय टोलीबाट उत्कृष्ट प्रदर्शन देखियो। यसले राष्ट्रिय टोली छनोट गर्न सहज भएको छ। साथै केही जिल्लामा प्रशिक्षणको स्तर, उपकरण, दक्ष प्रशिक्षक र प्रतियोगिताको नियमिततामा सुधार गर्नुपर्ने आवश्यकता पनि देखिएको छ।

नेपाली बक्सरहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा अपेक्षित सफलता हासिल गर्न किन संघर्ष गरिरहेका छन् ?

प्रतिभाको कमी छैन। तर नियमित अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, आधुनिक प्रशिक्षण, खेल विज्ञान, पोषण, खेल मनोविज्ञान र पर्याप्त आर्थिक लगानीको अभावले प्रभाव पारेको छ। यी पक्षमा सुधार गर्न सके नेपाली बक्सरले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट नतिजा ल्याउन सक्छन्।

आगामी एसियन गेम्स, विश्व च्याम्पियनसिप र ओलम्पिकलाई लक्षित तयारी कस्तो छ ?

हामी दीर्घकालीन योजनाअनुसार अघि बढिरहेका छौं। उत्कृष्ट खेलाडी छनोट, बन्द प्रशिक्षण, विदेशी प्रशिक्षक, अन्तर्राष्ट्रिय प्रशिक्षण अवसर, अभ्यास प्रतियोगिता र प्रदर्शन विश्लेषणलाई प्राथमिकता दिएका छौं। हाम्रो लक्ष्य सहभागिता मात्र होइन, प्रतिस्पर्धात्मक प्रदर्शन गर्नु हो।

राष्ट्रिय टोलीको प्रशिक्षण प्रणालीमा के–कस्ता परिवर्तन हुँदैछन् ?

प्रशिक्षणलाई थप वैज्ञानिक र योजनाबद्ध बनाइएको छ। फिटनेस, प्राविधिक सीप, रणनीतिक तयारी, पोषण, मानसिक तयारी र नियमित प्रदर्शन मूल्यांकनलाई प्रशिक्षणको मुख्य आधार बनाइएको छ। प्रशिक्षकहरूको क्षमता अभिवृद्धिमा पनि विशेष जोड दिएका छौं।

खेलाडीहरूले उठाउँदै आएका भत्ता, प्रशिक्षण र सुविधासम्बन्धी गुनासालाई महासंघले कसरी सम्बोधन गरिरहेको छ ?

खेलाडीहरूको गुनासोलाई हामीले गम्भीर रूपमा लिएका छौं। उपलब्ध बजेटभित्र रहेर भत्ता, प्रशिक्षण सामग्री, उपकरण र अन्य सुविधामा सुधार गर्ने प्रयास भइरहेको छ। थप स्रोत जुटाउन सरकारसँग निरन्तर समन्वय पनि गरिरहेका छौं।

नेपाल बक्सिङ महासंघ र सरकारबीचको सहकार्यलाई तपाईं कसरी हेर्नुहुन्छ ?

सरकार र राष्ट्रिय खेलकुद परिषद्सँग हाम्रो राम्रो सहकार्य छ। सरकारले आफ्नो क्षमता अनुसार सहयोग गरिरहेको छ। तर अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न थप बजेट, आधुनिक पूर्वाधार र दीर्घकालीन लगानी आवश्यक छ। निजी क्षेत्रको सहभागिता पनि उत्तिकै महत्वपूर्ण छ।

बक्सिङका लागि आवश्यक पूर्वाधार र आधुनिक प्रशिक्षण केन्द्रको अवस्था कस्तो छ ?

हालको पूर्वाधारले आधारभूत आवश्यकता पूरा गरे पनि अन्तर्राष्ट्रिय तयारीका लागि पर्याप्त छैन। आधुनिक प्रशिक्षण हल, रिकभरी सेन्टर, स्पोर्ट्स साइन्स ल्याब र प्रदेशस्तरीय प्रशिक्षण केन्द्र स्थापना हाम्रो प्राथमिकतामा छन्।

महिला बक्सिङको विकास र सहभागिता बढाउन महासंघले के गरिरहेको छ ?

महिला खेलाडीका लागि विशेष प्रशिक्षण शिविर, राष्ट्रिय प्रतियोगिता, प्रशिक्षक विकास कार्यक्रम तथा विद्यालय र समुदायस्तरमा प्रतिभा खोज अभियान सञ्चालन गरिरहेका छौं। महिला खेलाडीलाई समान अवसर उपलब्ध गराउनु हाम्रो मुख्य नीति हो।

जिल्ला र प्रदेश तहबाट नयाँ प्रतिभा उत्पादन गर्न महासंघको रणनीति के छ ?

जिल्ला र प्रदेश संघसँग समन्वय गरेर नियमित प्रतियोगिता, प्रतिभा पहिचान कार्यक्रम, प्रशिक्षक तालिम तथा विद्यालयस्तरीय प्रतियोगिता विस्तार गरिरहेका छौं। स्थानीय स्तरका उत्कृष्ट खेलाडीलाई राष्ट्रिय प्रशिक्षण प्रणालीमा समेट्ने योजना छ।

महासंघमा बेला–बेला देखिने विवादले खेलमा कस्तो असर पारेको छरु त्यसलाई व्यवस्थापन गर्न के कदम चालिएको छ ?

कुनै पनि संस्थामा विचार फरक हुन सक्छ। तर हाम्रो प्राथमिकता खेल र खेलाडीको हित हो। पारदर्शिता, संवाद र संस्थागत निर्णय प्रक्रियामार्फत सबै पक्षसँग समन्वय गर्दै विवाद समाधान गर्ने प्रयास भइरहेको छ।

निजी क्षेत्र र कर्पोरेट प्रायोजन भित्र्याउने विषयमा महासंघको योजना के छ ?

उत्तर स् बक्सिङको दिगो विकासका लागि निजी क्षेत्रको सहभागिता अपरिहार्य छ। कम्पनी, बैंक र व्यावसायिक संस्थासँग सहकार्य विस्तार गरिरहेका छौं। राम्रो ब्रान्डिङ, पारदर्शी व्यवस्थापन र अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामार्फत थप प्रायोजक आकर्षित गर्ने लक्ष्य छ।

आगामी एकदेखि चार वर्षका लागि महासंघको प्रमुख कार्ययोजना के–के छन् ?

राष्ट्रिय प्रशिक्षण प्रणाली सुदृढ बनाउने, प्रदेशस्तरीय प्रशिक्षण केन्द्र विस्तार गर्ने, प्रशिक्षक र रेफ्रीको क्षमता अभिवृद्धि गर्ने, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता बढाउने, महिला तथा युवा बक्सिङलाई प्रवर्द्धन गर्ने र नेपालमै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने वातावरण तयार गर्नु हाम्रो प्राथमिकता हो।

नेपालमा अन्तर्राष्ट्रिय स्तरको बक्सिङ प्रतियोगिता आयोजना गर्ने योजना छ ?

उत्तर स् आवश्यक स्रोत र पूर्वाधार उपलब्ध भएमा नेपालमै अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने योजना छ। यसले नेपाली खेलाडीलाई घरेलु मैदानमै उच्चस्तरीय प्रतिस्पर्धाको अवसर दिनेछ र नेपालको खेल पर्यटन तथा अन्तर्राष्ट्रिय छविलाई समेत बलियो बनाउनेछ।

अन्त्यमा, नेपाली बक्सिङको भविष्यप्रति तपाईं कत्तिको आशावादी हुनुहुन्छरु खेलाडी, प्रशिक्षक र खेलप्रेमीलाई तपाईंको सन्देश के छ ?

म नेपाली बक्सिङको भविष्यप्रति अत्यन्त आशावादी छु। नेपालमा प्रतिभाशाली खेलाडीहरूको कमी छैन। सरकार, महासंघ, प्रशिक्षक, अभिभावक, निजी क्षेत्र र खेलप्रेमी सबै एकजुट भएर अघि बढे नेपालले अन्तर्राष्ट्रिय स्तरमा ठूलो सफलता हासिल गर्न सक्छ।

खेलाडीहरूलाई मेरो सन्देश छ—अनुशासन, निरन्तर मेहनत, धैर्य र आत्मविश्वास सफलताको आधार हुन्। चुनौतीहरू आउँछन्, तर समर्पणका साथ अघि बढ्नुपर्छ। महासंघ सधैं खेलाडीहरूको हित, विकास र सफलताका लागि प्रतिबद्ध रहनेछ।

तपाईको बिचार

सम्बन्धित खबर