काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीसहित पूर्वी जिल्लामा हालै भएको गोलीकाण्ड तथा त्यसपछि उत्पन्न तनावपूर्ण परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले घटनापछि कुनै पनि अफवाह र उत्तेजनाको पछि नलागी संयमता अपनाउन सबै नागरिकसँग अपिल गरेको छ।
पार्टी सभापति रवि लामिछानेद्वारा जारी विज्ञप्तिमा घटनामा ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ। साथै, घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गरिएको छ।
रास्वपाले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट सम्भव नहुने स्पष्ट गर्दै नेपाली समाजको बहुलवादी संस्कृति, सामाजिक सद्भाव, सहिष्णुता र आपसी एकतालाई कमजोर पार्ने कुनै पनि गतिविधि नगर्न सबै पक्षसँग आग्रह गरेको छ।
विज्ञप्तिमा धार्मिक तथा सामाजिक अगुवा, नागरिक समाज, सरोकारवाला निकाय र आम नागरिकलाई साम्प्रदायिक सद्भावमा खलल पुग्ने गतिविधिबाट टाढा रहन तथा सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचना र अफवाहको पछि नलाग्न विशेष आग्रह गरिएको छ। अहिलेको संवेदनशील अवस्थामा उच्च संयमता अपनाउनु नै सबैभन्दा आवश्यक रहेको रास्वपाको भनाइ छ।
पार्टीले शान्ति सुरक्षा कायम गर्न, आम नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न र परिस्थितिलाई सामान्य बनाउन नेपाल सरकार तथा स्थानीय प्रशासनसँग निरन्तर सहजीकरणमा रहेको जनाएको छ।
रास्वपाले घटनाको जरोसम्म पुग्ने गरी स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गर्न तथा दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ। साथै, पीडित पक्षलाई उचित न्याय, क्षतिपूर्ति र निःशुल्क उपचारको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ।
विज्ञप्तिमा रास्वपाले शान्ति, न्याय र सामाजिक सद्भावको पक्षमा आफू सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै संवादमार्फत समस्याको शान्तिपूर्ण समाधान खोज्न आवश्यक सकारात्मक भूमिका निर्वाह गर्ने जनाएको छ।
सभापति लामिछानेले घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सबै राजनीतिक दल तथा सम्बद्ध पक्षसँग आग्रह गरेका छन्। साथै, रास्वपाका स्थानीय समिति तथा सम्पूर्ण कार्यकर्तालाई शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न सहयोगी भूमिका खेल्न निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ।

तपाईको बिचार