देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न एमाले माग

563

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सुनसरीको देवानगञ्ज गाउँपालिकामा पछिल्ला दुई दिनदेखि विकसित तनावपूर्ण अवस्थाका क्रममा स्थानीय युवा ओमप्रकाश मेहताको गोली लागेर मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार जारी प्रेस वक्तव्यमा एमालेले नागरिकको जीवन सुरक्षा र शान्ति–सुरक्षा कायम गर्ने दायित्व बोकेको सरकार तथा स्थानीय प्रशासनले अत्यन्त संवेदनशील विषयमा गैरजिम्मेवार, उदासीन र दिशाहीन व्यवहार प्रदर्शन गरेको आरोप लगाएको छ। विवाद समाधानका लागि समयमै सार्थक संवाद र समन्वयको पहल गर्नुपर्नेमा राज्य संयन्त्रबाट अनावश्यक बल प्रयोग भएको भन्दै यसले परिस्थिति थप उत्तेजित बनेको उल्लेख गरेको छ।

एमालेले घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइते सबै नागरिकको अविलम्ब, प्रभावकारी र पूर्ण निःशुल्क उपचारको व्यवस्था गर्न, पीडित परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घटनाको निष्पक्ष तथा उच्चस्तरीय छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

वक्तव्यमा राज्यलाई दमनकारी रवैया तत्काल रोक्न र संयमताका साथ समस्याको दीर्घकालीन तथा शान्तिपूर्ण समाधान खोज्न आग्रह गरिएको छ। साथै, सुनसरीको देवानगञ्जसहित समग्र क्षेत्रमा कुनै पनि अफवाहमा नलाग्न तथा धार्मिक, सामाजिक र जातीय सद्भाव, आपसी एकता र भाइचारालाई अक्षुण्ण राख्न सबै पक्षलाई अपिल गरिएको छ।

तपाईको बिचार

सम्बन्धित खबर