३० जेठ, काठमाण्डौं। नेपाल रिकण्डिसन अटो व्यवसायी संघको नवौँ र दसौं साधारणसभा तथा तेश्रो राष्ट्रिय अधिवेशन काठमाडाैंमा सुरु भएको छ।
संघका अध्यक्ष रमेश कोइरालाको सभापतित्व तथा बागमती प्रदेशका श्रम , रोजगार तथा यातायात व्यवस्था मन्त्री जयराम थापाको प्रमुख आतिथ्यमा कालीमाटीस्थित कालीमाटी बैंकेटमा जारी रहेको अधिवेशनमा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य प्रयास कार्की, नाडाका महासचिव मिलनबाबु मल्ल लगायत अटो क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको छ। अधिवेशनले रिकण्डिसन अटो व्यवसायी संघको नयाँ कार्यकारी समितिको चयन गर्ने कार्यतालिका रहेको छ।
कार्यक्रमको समुद्घाटन समारोहमा प्रमुख अतिथि बागमती प्रदेशका श्रम , रोजगार तथा यातायात व्यवस्था मन्त्री जयराम थापाले यस संस्थालाई संघर्ष र समन्यवबाट आजको अवस्थामा ल्याउन सक्षम संघका अध्यक्ष रमेश कोइरालाको नेतृत्वको सराहना गर्दै आफ्नो पेशाको हकहितका लागि एकता कायम गर्न सुझाव दिए। रिकण्डिसन अटो व्यवसायीहरु मध्यम वर्गको लागि सहज रुपमा गाडीहरु उपलब्ध गराउने व्यवसायी भएकाले राज्यले पनि सहुलियतपूर्ण प्रोत्साहन दिनुपर्ने अनुभूति भएको बताए।
मन्त्री थापाले नेपालको सार्वजनिक ऐनमा २० वर्ष पुराना सवारी साधन हटाउनुपर्ने ब्यवस्था रहेकोमा व्यवसायीको हितमा यस नीतिमा बागमती प्रदेश सरकारले पुनर्विचार गर्नको लागी कार्यविधि अगाडि बढाएको जानकारी दिए। उनले रिकण्डिसन गाडीहरु विदेशबाट समेत आयात गर्न सकिने सम्भावनाबारे अध्ययन हुनु आवश्यक रहेको बताए। उनले रिकण्डिसन अटो व्यवसायमा लाग्ने कर प्रणाली सुधार गर्नुपर्ने बताए। उनले बागमती प्रदेश सरकारले यातायत एन संशोधन गर्न लागेको जानकारी दिए।
कार्यक्रममा नाडाका महासचिव मिलनबाबु मल्लले नाडाले रिकण्डिसन अटो व्यवसायीको हकहितका साथै समग्र अटो व्यवसायीहरुको हितमा नीति निर्माण र व्यावसाय सुरक्षाको लागि काम गर्दै आएकोमा त्यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
कार्यक्रममा रिकण्डिसन अटो व्यवसायी संघलाई योगदान पुर्याउने व्यवसायीहरुलाई कदरस्वरुप सम्मान प्रदान गरिएको छ।
तपाईको बिचार