संविधान कार्यान्वयनमै लोकतन्त्रको सफलता निहित : सभापति थापा

786

काठमाडौं, वैशाख ११ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रको वास्तविक सफलता संविधानको प्रभावकारी कार्यान्वयनमा निर्भर रहेको बताएका छन्। लोकतन्त्र दिवसका अवसरमा जारी शुभकामना सन्देशमार्फत उनले जनअधिकार र लोकतन्त्रका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्राप्त उपलब्धिहरूलाई जनजीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन्।

थापाले लोकतान्त्रिक संघर्षबाट हासिल भएका अधिकारहरूलाई केवल कागजमै सीमित नराखी व्यवहारमा उतार्नु सबै पक्षको साझा जिम्मेवारी भएको उल्लेख गरे। उनले संविधानको मर्मअनुसार सुशासन, पारदर्शिता र विकासमार्फत जनताको विश्वास जित्नुपर्ने आवश्यकता औंल्याए।

सन्देशमा उनले वर्तमान परिस्थितिमा अपेक्षा र उपलब्धिबीच दूरी रहेको स्वीकार गर्दै त्यसको समाधान लोकतन्त्रको विकल्प खोज्नु नभई लोकतन्त्रलाई अझ सुदृढ र उत्तरदायी बनाउनु रहेको स्पष्ट पारे। “लोकतन्त्रलाई जनमुखी बनाउँदै नागरिकका आकांक्षा सम्बोधन गर्न सक्नु नै आजको मुख्य चुनौती हो,” उनले भनेका छन्।

थापाले लोकतान्त्रिक प्रणालीलाई प्रभावकारी बनाउन राजनीतिक दल, सरकार र सरोकारवाला निकायहरू जिम्मेवार र जवाफदेही बन्नुपर्नेमा पनि जोड दिएका छन्। लोकतन्त्र दिवसले विगतका संघर्ष र बलिदानको स्मरण गराउँदै वर्तमान अभ्यासलाई समीक्षा गर्ने अवसर प्रदान गर्ने उनको भनाइ छ।

तपाईको बिचार

सम्बन्धित खबर