काठमाडौं । गृहमन्त्री सुदन गुरुङले सेयरमा लगानीलाई लिएर उठेका आरोपप्रति प्रतिक्रिया जनाउँदै सेयर खरिदलाई अपराधका रूपमा व्याख्या गर्नु गलत भएको बताएका छन्। पछिल्ला दिनमा आफ्नो नाम जोडेर भइरहेका चर्चाबारे उनले तथ्य स्पष्ट पार्ने उद्देश्यले सार्वजनिक रूपमा स्पष्टीकरण दिएका हुन्।
गुरुङका अनुसार उनले धितोपत्र बजारमा कारोबार हुने सेयरमा २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै खुला रूपमा उल्लेख गरेका छन्। “२५ लाखको सेयर लुकाइएको” भन्ने आरोपलाई उनले अस्वीकार गर्दै उक्त लगानीहरू एउटै वर्गअन्तर्गत समेटिएको र यो वर्गीकरणको विषय मात्र भएको बताए।
मन्त्री हुनुअघि सेयर खरिद गरेको विषयमा उनले लगानी गर्नु गैरकानुनी नभएको स्पष्ट पारे। सबै आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत भएको उल्लेख गर्दै उनले पैसाको स्रोतसमेत प्रमाणित गर्न सकिने बताए। उनका अनुसार २०८०र०५र२९ मा लिइएको ऋणमार्फत उक्त लगानी गरिएको हो, जसको लिखित प्रमाण र बैंक रेकर्ड उपलब्ध छन्।
विवादित व्यक्तिसँग साझेदारीको आरोपबारे उनले एउटै कम्पनीमा धेरै सेयरधनी हुने भएकाले सेयर खरिदलाई व्यक्तिगत साझेदारीका रूपमा बुझ्नु गलत हुने तर्क गरे। “त्यही कम्पनीमा विभिन्न संस्था र व्यक्तिहरूको लगानी छ, सबैलाई एउटै रूपमा दोषी ठहर गर्न मिल्दैन,” उनले भने।
‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ सम्बन्धी आरोपबारे गुरुङले सम्बन्धित निकायले प्रक्रिया अनुसार छानबिन गरिरहेको र आफूले कुनै हस्तक्षेप नगरेको दाबी गरे। व्यापारिक लगानीमा जोखिम स्वाभाविक हुने उल्लेख गर्दै उनले पृष्ठभूमि नजाँची लगानी गरेको भन्ने आरोपलाई पनि अस्वीकार गरे।
गुरुङले हल्लाभन्दा प्रमाणका आधारमा निष्कर्ष निकाल्न आग्रह गर्दै पार्टीको निर्णय मान्ने र अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
तपाईको बिचार