महाशिवरात्रि आत्मशुद्धि र आत्मसंवादको पर्व हो : अध्यक्ष ओली

835

काठमाडौँ, ३ फागुन । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले महाशिवरात्रि आत्मशुद्धि, संयम र आत्मसंवादको पर्व भएको बताउनुभएको छ।

महाशिवरात्रिको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश सार्वजनिक गर्दै अध्यक्ष ओलीले यो पर्व उपवास, जागरण र अन्तर्मनसँग संवाद गर्ने पवित्र अवसर भएको उल्लेख गर्नुभयो। उहाँले ‘पशु’ अर्थात् बन्धनमा बाँधिएको चेतनालाई मुक्त गर्दै लोभ, क्रोध, मोह र अहंकारजस्ता पाश ९बन्धन० बाट बाहिर निस्कन महाशिवरात्रिले प्रेरणा दिने बताउनुभयो।

अध्यक्ष ओलीका अनुसार पशुपतिनाथको प्रतीकात्मक स्वरूपले मनलाई स्वतन्त्र, शान्त र आनन्दित बनाउने सन्देश दिन्छ। ऊर्जाको तीव्र प्रवाहलाई संयममा राख्ने क्षमता, कठिन परिस्थिति र पीडाका बीच पनि शान्त र धैर्यवान् रहन सक्ने शक्ति तथा निःस्वार्थ जीवन जिउने मार्ग महादेवको मूल शिक्षा भएको उहाँको भनाइ छ।

“बाहिरी कोलाहलमा होइन, भित्रको विवेकमा सत्य निहित हुन्छ,” भन्दै अध्यक्ष ओलीले महाशिवरात्रिको दिन सबैले आत्मबोधको ज्योति प्रज्वलित गर्न र विवेकको सत्य फैलाउन सकून् भन्ने कामना गर्नुभएको छ।

तपाईको बिचार