काठमाडौँ,१ फागुन । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै प्रतिज्ञापत्र लेखिरहेको छ । उक्त प्रतिज्ञापत्र लेखन अन्तिम चरणमा पुगेको पार्टीले जनाएको छ । पार्टीका अनुसार हरेक क्षेत्रलाई समेटेर प्रतिज्ञापत्र बन्दैछ ।
यसैबीच स्वास्थ्य क्षेत्रमा समेट्नु पर्ने विषयमा शुभेच्छुक लोकतन्त्रवादी स्वास्थ्यकर्मीका तर्फबाट नेपाल स्वास्थ्यकर्मी संघका पूर्व महासचिव दीपक मुडभरीले सुझावपत्र बुझाएका छन् ।
उनले ४१ बुँदामा समेटेर स्वास्थ्यका विषय समेट्न आग्रह गर्दै पार्टी प्रवक्ता देवराज चालिसेलाई सुझावपत्र बुझाएका हुन् ।
उनले नेपालको स्वास्थ्य क्षेत्र पछिल्ला वर्षहरूमा पहुँचको हिसाबले विस्तार भए पनि गुणस्तर, समानता र दिगोपनको दृष्टिले अझै चुनौतीपूर्ण अवस्थामा रहेको छ। नसर्ने रोग, क्यान्सर, मिर्गौला तथा मानसिक स्वास्थ्य समस्याहरू तीव्र रूपमा बढ्दै गएका छन् भने स्वास्थ्य जनशक्ति पलायन, महँगो उपचार, गुणस्तरहिन उपकरण निर्यात ,असमान सेवा वितरण र सुशासनको कमी , कमजोर शासन प्रणालीले नागरिकको स्वास्थ्य अधिकार प्रभावित बनाइरहेको उल्लेख गरेका छन् ।
संघीय संरचना अनुसार स्थानीय, प्रदेश र संघीय तहबीच प्रभावकारी समन्वय, पारदर्शी व्यवस्थापन र दीर्घकालीन रणनीति बिना “सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवा” को लक्ष्य हासिल गर्न कठिन हुँदै गएको वर्तमान सन्दर्भमा, लोकतान्त्रिक राजनीतिक दलको स्पष्ट, व्यवहारिक र लोकमुखी स्वास्थ्य एजेन्डा अपरिहार्य भएकोसमेत उनले जिकिर गरेका छन् ।
तपाईको बिचार