काठमाडौँ,१ फागुन । नेपाली कांग्रेसले राष्ट्र निर्माणको अभियानमा सक्रिय सहभागिता जनाउँदै लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सुदृढ गर्न औपचारिक रूपमा पार्टीमा आबद्ध हुन इच्छुक सबैलाई आह्वान गरेको छ।
पार्टीका प्रवक्ता देवराज चालिसेले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिमा समयानुकूल रूपान्तरित राजनीतिक चेतना, स्पष्ट दृष्टिकोण र नयाँ नेतृत्वका साथ कांग्रेस देशलाई सुशासन, समावेशिता र समृद्धितर्फ अग्रसर गराउने दृढ संकल्पका साथ अघि बढिरहेको उल्लेख गरेका छन्। विज्ञप्तिमा पार्टी सभापति गगन थापाको नेतृत्वमा संगठन सुदृढीकरण, नीतिगत स्पष्टता र जनविश्वास पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखिएको जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ—“यस ऐतिहासिक संक्रमणको घडीमा वैकल्पिक शक्ति निर्माणमा विश्वास राख्ने तथा चिकित्सा, शिक्षा, कानून, उद्योग, सूचना–प्रविधि, कृषि, श्रम र नागरिक समाजलगायत विभिन्न क्षेत्रमा सक्रिय प्रतिष्ठित व्यक्तित्वहरूलाई नेपाली कांग्रेसमा औपचारिक रूपमा आबद्ध भई समाज रूपान्तरणमा योगदान गर्न हार्दिक आह्वान गर्दछौं।”
प्रवक्ता चालिसेले कांग्रेस सधैं विचार, विवेक र प्रतिबद्धताको संगम भएको लोकतान्त्रिक मञ्च रहेको उल्लेख गर्दै संस्थागत मूल्यलाई व्यक्तिभन्दा माथि राखिने, पारदर्शिता, जवाफदेहिता र नीतिमा आधारित राजनीतिलाई प्राथमिकता दिइने स्पष्ट पारेका छन्। देश र लोकतन्त्रको सुदृढीकरणका लागि नयाँ सोच, नवीन ऊर्जा र अनुभवी व्यक्तित्वहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको विश्वास कांग्रेसले व्यक्त गरेको छ।
तपाईको बिचार