आत्मनिर्भर अर्थतन्त्र र राष्ट्रिय पहिचान जोगाउन एमाले प्रतिबद्ध : अध्यक्ष ओली

729

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आत्मनिर्भर अर्थतन्त्र निर्माण र राष्ट्रिय पहिचानको संरक्षणमा एमाले दृढ प्रतिबद्ध रहेको बताएका छन्।

झापा–काठमाडौं सम्पर्क कमिटीद्वारा आयोजित निर्वाचन विशेष भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेकपा एमाले मुलुकप्रति विशेष अभिभारा बोकेको पार्टी भएकाले त्यसलाई पूरा गर्नुपर्ने दायित्व पार्टीमाथि रहेको उल्लेख गरे। उनले राष्ट्रियता, जिम्मेवारी र जवाफदेहिताका आधारमा एमाले अन्य राजनीतिक दलभन्दा पृथक रहेको दाबी गरे।

अध्यक्ष ओलीले एमाले मात्र देशभक्त वा लोकतान्त्रिक पार्टी हो भन्ने अर्थ नरहेको स्पष्ट पार्दै पछिल्लो समय अन्य दलहरूमा नीति र दृष्टिकोणप्रतिको स्पष्टता, त्यसमा अडिग रहने क्षमता तथा कार्यान्वयन शक्ति कमजोर हुँदै गएको टिप्पणी गरे।

उनले भने, “अरू पार्टी देशभक्त वा लोकतान्त्रिक छैनन् भन्ने होइन, तर आजभोलि स्पष्टता, त्यसमा अड्न सक्ने क्षमता र कार्यान्वयन गर्ने शक्ति क्रमशः कमजोर बन्दै गएको देखिन्छ।”

अध्यक्ष ओलीले देशलाई पुनः सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र र स्वाधीन राष्ट्रका रूपमा सुदृढ गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिए। साथै स्वतन्त्र राजनीतिक व्यवस्था, मौलिक सामाजिक मूल्य–मान्यता र गौरवपूर्ण सांस्कृतिक पहिचानको संरक्षण गर्दै विकासको यात्रालाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।

“देशलाई फेरि पनि सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र र स्वाधीन राष्ट्रको हैसियतमा कायम राख्दै आत्मनिर्भर अर्थतन्त्र, स्वतन्त्र राजनीतिक व्यवस्था, हाम्रो मौलिक सामाजिक मूल्य–मान्यता र गौरवपूर्ण संस्कृतिलाई जोगाउँदै अघि बढ्नुपर्छ,” अध्यक्ष ओलीले स्पष्ट पारे।

तपाईको बिचार

सम्बन्धित खबर