पटक–पटक शहीद भए जनता, तर सत्ता सुध्रिएन : बालेन

784

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले शहीदहरूको बलिदान पछिको परिस्थितिमा राज्य अझै जनताको नभएको टिप्पणी गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत बालेनले गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई तत्कालीन राणा शासनले क्रूरतापूर्वक हत्या गरेको ८५ वर्ष पूरा भएको स्मरण गराएका छन्।

उनका अनुसार, सहिदहरूको बलिदानको करिब एक दशकपछि राणा शासनको अन्त्य भए पनि राज्यको चरित्र फेरिएको छैन।

८५ वर्षमा पटक–पटक व्यवस्था फेरियो, तर सत्ताको चरित्र फेरिएन,’ उनले भने, ‘नेपाली जनताले निरन्तर संघर्ष गर्नुपर्‍यो, पटक–पटक जनता शहीद भए, तर शहीदका सपना अझै पूरा हुन सकेका छैनन्।’

बालेनले भदौमा भएको ‘जेन–जी आन्दोलन’को प्रसंग पनि उठाएका छन्। सुशासन र भ्रष्टाचार अन्त्यको माग राख्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा तथा विद्यार्थीले जीवन गुमाउनु परेको घटनाप्रति उनले गहिरो दुःख व्यक्त गरेका छन्।

उनले अब सहिदका सपना पूरा गर्ने दिशामा अघि बढ्ने समय आएको उल्लेख गर्दै वर्तमान पुस्ताको काँधमा भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्ने जिम्मेवारी रहेको बताएका छन्।

‘लामो समयदेखि जरा गाडेको भ्रष्टाचार अन्त्य गरी नेपाललाई आर्थिक रूपमा उन्नत मुलुक बनाउनु जरुरी छ,’ उनले भने। साथै, बालेनले राज्यका निकायमा चरम दलीयकरण अन्त्य गर्नुपर्ने र राज्यलाई जवाफदेही र पारदर्शी बनाउनु अपरिहार्य रहेको बताए। ‘यी सहिदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट अब कसैलाई छैन,’ उनले चेतावनी दिएका छन्।

शहीद दिवसको अवसरमा बालेनले सुशासनयुक्त र भ्रष्टाचारमुक्त देश निर्माणका लागि मन, वचन र कर्मले प्रतिबद्ध हुन सबैलाई आह्वान पनि गरेका छन्।

तपाईको बिचार

सम्बन्धित खबर