पपुलिज्म र एनार्किज्मले देश कमजोर बनाउँछ : शंकर पोखरेल

796

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पपुलिज्म र एनार्किज्मले जटिल राष्ट्रिय समस्यालाई झनै ध्वस्त बनाउँदै देशलाई कमजोर दिशातर्फ धकेलिरहेको चेतावनी दिनुभएको छ। सामाजिक सञ्जालमार्फत आजको देशभक्तिको विषय स्पष्ट गर्दै उहाँले सरल उत्तर बेचेर जटिल समस्या समाधान गर्न खोज्ने प्रवृत्ति खतरनाक रहेको उल्लेख गर्नुभएको हो।

महासचिव पोखरेलका अनुसार एनार्किज्मले व्यवस्थालाई नै दुश्मन ठान्ने सोच विकास गराउँछ, जसको परिणामस्वरूप राज्य कमजोर बन्दै जान्छ र नागरिकहरू विभाजित हुन्छन्। यस्तो अवस्थाबाट नेपाललाई जोगाउन आलोचनात्मक सोच अपनाउन, तथ्य र भावनालाई छुट्याउन तथा असहमतिलाई लोकतान्त्रिक विधिमै राख्नुपर्ने उहाँको जोड छ।

उहाँले राष्ट्र जोगाउनु भनेको गौरवपूर्ण नेपाली पहिचान जोगाउनु भएको स्पष्ट पार्दै संविधान जोगाउनु समावेशिता जोगाउनु र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनु भनेको भविष्य सुरक्षित गर्नु भएको उल्लेख गर्नुभयो।

महासचिव पोखरेलले हालको समस्या राजनीतिक अस्थिरता र सामाजिक अराजकतामा केन्द्रित रहेको बताउँदै यी चुनौती सामना गर्न बलिया राजनीतिक दल र निर्णायक राष्ट्रिय शक्तिको खाँचो रहेको धारणा राख्नुभयो। उहाँका अनुसार निर्वाचन त्यही उद्देश्य प्राप्तिको महत्वपूर्ण अवसर हो।

विश्व परिवेशबारे चर्चा गर्दै उहाँले शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धाले दोस्रो विश्वयुद्धपछिको विश्वव्यवस्था खलबलिएको उल्लेख गर्नुभयो। संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय संस्थाहरू पनि आफ्नै उपस्थितिका लागि संघर्षरत अवस्थामा पुगेको उहाँको भनाइ छ। विश्वव्यापी रूपमा सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा विषय झनै संवेदनशील बनेको उहाँले औंल्याउनुभयो।

यस्तो अवस्थामा नेपाल भूराजनीतिक द्वन्द्वमा फस्न नदिन समयमै सचेत हुन आवश्यक रहेको बताउँदै महासचिव पोखरेलले बंगलादेश वा युक्रेनजस्तो परिस्थिति नआओस् भन्नका लागि चेतनाको निरन्तरता नै आजको सबैभन्दा ठूलो देशभक्ति भएको निष्कर्ष प्रस्तुत गर्नुभयो।

तपाईको बिचार

सम्बन्धित खबर