पब्लिक डिबेटका लागि तयार छौँ : केपी ओली

767

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक बहस (पब्लिक डिबेट) का लागि आफ्नो पार्टी पूर्ण रूपमा तयार रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै ओलीले नयाँ–पुराना सबै दलहरू अहिले चुनावी प्रतिस्पर्धामा होमिएको उल्लेख गरेका छन्। देश बनाउने र देश जलाउने शक्तिबीचको प्रतिस्पर्धामा नेकपा (एमाले) देश निर्माणको पक्षमा उभिएको उनको दाबी छ।

अध्यक्ष ओलीले पछिल्लो समय सामाजिक सञ्जालमा फ्रेमिङ गरेर प्रचार सामग्रीमार्फत मतदातालाई भ्रममा पार्ने र वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै त्यसलाई चिर्न सार्वजनिक बौद्धिक बहस आवश्यक भएको बताएका छन्। उनका अनुसार यही कारण पब्लिक डिबेटको माग बढिरहेको हो।

उनले यसपटकको निर्वाचनमा ऐतिहासिक भूमिका खेलेका दलहरू, अघिल्ला चुनावमा सहभागी दलहरू र केही नयाँ दलहरूले समेत प्रधानमन्त्रीका उम्मेदवार तोकेर अघि बढेको बताए। देशको नेतृत्व गर्न खोज्ने दलहरूसँग अघिल्ला काम, अबका योजना, रोडम्याप र खाका स्पष्ट हुनुपर्ने ओलीको भनाइ छ।

“यस्ता प्रश्नहरू सार्वजनिक रूपमा उठाएर आमनेसामने बहस गर्नु सकारात्मक हुन्छ,” ओलीले लेखेका छन्, “हामीले यसअघिसम्म के गर्यौँ भन्ने तथ्य र अब कसरी काम गर्छौँ भन्ने एजेन्डा प्रस्तुत गर्न म तयार छु।”

उनले चुनावपछि प्रधानमन्त्रीका उम्मेदवार बनेकाहरूलाई सिधा प्रश्न सोधिने सार्वजनिक बहसको मञ्चमा उभिएर आफ्ना एजेन्डा र प्रतिबद्धता जनाउन सबै दललाई आह्वान गरेका छन्।

अध्यक्ष ओलीले पारदर्शी र तथ्यमा आधारित पब्लिक डिबेटको आयोजना गर्न सबै पक्षलाई सहमत हुन आग्रह गर्दै लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन यस्तो बहस आवश्यक रहेको बताएका छन्।

तपाईको बिचार

सम्बन्धित खबर