दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछानेसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने सरकारको निर्णय कानुनी राज्यको मर्मविपरीत भएको बताएका छन्।
दाङको घोराहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले प्रहरी र अदालतजस्ता संवैधानिक निकायमाथि आक्रमण हुनु गम्भीर विषय भएको उल्लेख गरे। उनले भदौ २३ र २४ गते भएका घटनालाई सामान्य आन्दोलनका रूपमा व्याख्या गर्न नमिल्ने भन्दै यस्ता घटनासँग जोडिएका मुद्दा फिर्ता गर्ने निर्णयले विधिको शासन कमजोर बनाउने चेतावनी दिए।
‘नयाँ शक्ति’ को नाममा कानुनी राज्यलाई चुनौती दिन नहुने बताउँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टीलेसमेत सिद्धान्तका आधारमा सरकारको निर्णयको विरोध गर्न सक्नुपर्ने धारणा राखे। साथै, सुरक्षा निकायको मनोबल गिराउने गतिविधिले देशमा शान्ति–सुरक्षा कायम हुन नसक्ने भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाए।
राजनीतिक स्थायित्वबारे चर्चा गर्दै महासचिव पोखरेलले दलहरू बलियो भए मात्र लोकतन्त्र सुदृढ हुने स्पष्ट पारे। उनले लोकतान्त्रिक मूल्य र मान्यताको सम्मान गर्दै निर्वाचनमार्फत् नै राजनीतिक निकास खोज्न एमाले तयार रहेको बताए।
तपाईको बिचार