पहिचान जातीयताको हैन, राष्ट्रियताको हुनुपर्छ: पूर्वमन्त्री बस्नेत

पहिचान जातीयताको हैन, राष्ट्रियताको हुनुपर्छ: पूर्वमन्त्री बस्नेत

783

संखुवासभा, १२ पौष । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय युवा संघ नेपाल सामुदायिक संगठन भएको बताउनुभएको छ ।

संघको ९औं जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै नेता बस्नेतले हिमाल, पहाड, तराई, गाउँदखी शहरसम्मका सम्पूर्ण १६ वर्षदेखी ४० वर्षसम्मका युवाहरुको साझा संगठन तथा समूदायको हितको नेतृत्वकर्ता गर्ने संगठन नै राष्ट्रिय युवा संघ भएको उल्लेख गर्नुभयो । संघका इन्चार्ज समेत रहनुभएका नेता बस्नेतले कम्युनिष्ट भनेको नै समुदायको उत्तराधिकारी रहेको प्रति संकेत गर्नुभयो । समुदाय र त्यहाँ बसोवास गर्ने जनताको आवश्यकता, चाहना पुरा गर्ने भनेको नै कम्युनिष्ट रहेको उल्लेख गर्दै समाज रुपान्तरणमा संघका नेता तथा कार्यकर्ताले युवा समुदायको नेतृत्व गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय युवा संघ नेपाल सामुदायीक संगठन हो । यहाँ १६ देखी ४० वर्षसम्मका उमेर समुहको संगठन हो । त्यही भएर मुलभुत रुपमा राष्ट्रिय युवा संघ आफ्नो समुदायको हक, हितमा केन्द्रीत रहन्छ । संघले नेपालमा युवाहरुको मुद्धालाई उठाउँछ । ति मुद्धाहरुलाई कार्यान्वयन गर्ने कुरामा निरन्तर रुपमा लाग्छ । स्थापनाकालदेखी नै हामीले एउटा रणनीतिक रुपमा उठायौं, अर्को कार्यनीतिगत तहबाट कुरा उठायौं । रणनीतिक रुपमा न्यायप्रेमी युवाहरु युवा संघमा, सामाजिक परिवर्तन युवाको काँधमा भन्ने नारा दियौं । यसको मुलभुत अर्थ के हो भने समाजमा परिवर्तन गर्ने, क्रान्ति सफल गर्ने, हिजो अर्धसामन्ती र अर्धऔपनिवेशको मुलुकलाई पुँजीवादतर्फ तिव्र अगाडी बढिरहेको आजको मुलुकलाई समाजवाद हुँदै साम्यवादसम्म पुर्याउने । जो माक्र्सवादी दर्शन, दृष्टिकोण र अर्थशास्त्रका आधारमा समाज परिवर्तन गर्ने काम युवाहरुको हो । यो नै नेपालको युवा आन्दोलनको मुल काम हो । युवा एउटा पहिचान हो, डक्टर, इन्जिनियर, शिक्षकलगायका पहिचान हो । तर पहिचान जातीय हैन, राष्ट्रियताको हुनुपर्छ । त्यसलाई बुझाउने महत्वपूर्ण जिम्मेवारी युवा संघको हो ।’

युवाहरु विचारमा प्रष्ट भएपछि मात्र रणनैतिक लक्ष्यमा पुग्न सफल हुने उल्लेख गर्दै उहाँले नवयुवा तथा महिलाहरुलाई संघमा समेट्नुपर्नेमा जोड दिनुभयो । नवयुवाहरुलाई राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको पक्षमा जागरुक गराउनुपर्ने बताउँदै उहाँले साम्राज्यवादीहरुले नेपाललाई खेलमैदान बनाउन सक्ने भएकाले युवाले नै राष्ट्रियता जोगाउनुपर्ने महत्वपूर्ण जिम्मेवारी भएको बताउनुभयो । निर्वाचन प्रणालीको परिवर्तन आवश्यकता महशुस हुँदै गएको उल्लेख गर्दै उहाँले राजनीतिक स्थिरता भएमात्र समृद्धिका आधार तयार गर्न सकिने धारणा राख्नुभयो । माओवादीले आफ्नो आन्दोलन कमजोर भएपछि जातीय राज्यको नारा दिएको स्मरण गर्दै नेता बस्नेतले आत्मनिर्णयको अधिकार सहितको जातीय राज्य बनाउने साम्राज्यवादीहरुको योजनामा माओवादीले देशलाई टुक्र्याउने प्रयास गरेता पनि एमालेले त्यसलाई सफल हुन नदिएको स्पष्ट पार्नुभयो ।

‘जात र धर्मको नाममा समाजमा हिंसा भड्काउन एकातर्फ प्रचण्ड र बाबुराम लागेका थिए भने अर्कातिर महन्त र उपेन्द्रहरु एक मधेस, एक प्रदेश बनाउन लागेका थिए । एकातिर आत्मनिर्णयको अधिकारको कुरा प्रचण्डले गरिरहेका थिए भने अर्कोतिर बहुराष्ट्रियताको कुरा गरिरहेका थिए । नेपालको झण्डा फेर्नुपर्छलगायतका असंख्य एजेण्डाहरु उठाएका थिए । मधेसलाई बहुराज्य बनाई अर्को देशसँग मिसाउने योजनामा थिए,’ उहाँले भन्नुभयो, ‘तर यस्ता योजनाको विरुद्धमा एमाले दृढताको साथ उभियो । उक्त समयमा आफ्नो टाउको फुटेको सहनसक्छु, शरिरका अंगहरु टुटेको हेर्न सक्छु तर मुलुक टुटेको हेर्न सक्दैनौं भन्ने पार्टी एमाले हो । त्यही भएर बहुराष्ट्रिय तथा आत्मनिर्णयको अधिकार मान्दिन भन्ने पार्टी एमाले हो, केपी शर्मा ओली हो । त्यही भएर अहिले हाम्रो देश नेपाल हो भन्ने अवस्था रहेको छ ।’

हिजो प्रचण्डको योजनामा एमालेमाथि आक्रमण गर्ने मान्छेहरुले आज प्रचण्डमाथि नै आक्रमण गर्न सुरु गरेका स्मरण गर्दै उहाँले हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्री हटाउनु पनि प्रचण्डको विगतको नारा कै कारण भएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘३२ सिटे प्रचण्ड प्रधानमन्त्री छन् । देशमा कुक्कुर पुच्छर हल्लाएको हैन, पुच्छरले कुक्कुर हल्लाएका छन् । त्यही भएर मुलुक अधोगतिमा गइरहेको छ । अराजकताले सीमा नाघ्दैछ ।’

तपाईको बिचार