हरि ढकालको कथा संग्रह “महाप्रश्न” को लोकार्पण

519

काठमाण्डौँ। व्यवसायी तथा सामाजिक व्यक्तित्व हरि ढकालको कथा संग्रह “महाप्रश्न” को लोकार्पण तथा परिचर्चा सम्पन्न भएको छ। जीवनका यथार्थ, मानवीय संवेदना र सामाजिक चेतनालाई सरल र प्रभावशाली शैलीमा प्रस्तुत गरिएको उक्त कृतिको वरिष्ठ लेखक तथा समीक्षक नारायण ढकाल, कृतिका सम्पादक हरिहर तिमिल्सिना, नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्य, लेखिका बिना थिङ , व्यवसायी राजेन्द्र संग्रौला, व्यवसायी गोविन्द घिमिरे , राजनीतिज्ञ लेखनाथ न्यौपाने लगायतका विशिष्ट व्यक्तित्वहरुले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष समारोहमा सार्वजानिक गरेका हुन्।

लोकार्पण समारोहमा कथाकार ढकालले जीवन भोगाईका क्रममा साक्षात्कार भएका अनेक प्रश्नहरूको अभिव्यक्तिको रूपमा “महाप्रश्न” को सृजना गरेको स्प्रष्ट पारे। ‘कतिपय प्रश्नका उत्तर भेटेको छु, अरु धेरै प्रश्नहरू अझै अनुत्तरित छन्। तर म पूर्ण लेखक हैन, यो पुस्तक पनि पूर्ण छैन। सृजनामा मेरो यो इमान्दार प्रयत्न हो , पुस्तक सङ्ग संवाद गरिदिनुहोस्!’ , कार्यक्रममा लेखक ढकालको अभिव्यक्ति थियो।

लोकार्पण तथा परिचर्चा समारोहका प्रमुख अतिथी समेत रहेका वरिष्ठ लेखक नारायण ढकालले व्यवसायी पनि उत्कृष्ट लेखक हुन् सक्छन् भन्ने कुराको एक उत्कृष्ट दृष्टान्त यस कृतिका लेखक हरि ढकालले प्रस्तुत गर्न सक्षम भएका बताए। लेखकको मुख्य काम प्रश्न गर्नु नै भएको र भगवान गौतम बुद्धले पनि प्रश्नहरु गर्न सिकाएका उल्लेख गर्दै ढकालले यस कथा संग्रहमा लेखकले गरेका महत्वपूर्ण प्रश्नहरुले हामी सबैलाई सामूहिक रूपमा उत्तर खोज्न प्रेरित गर्ने विश्वास व्यक्त गरे। लेखकले नयाँ समयलाई नयाँ ढंगले चिन्ने सृजना गरेका बताउँदै निरन्तर सृजनायात्रामा अगाडि बढ्न आग्रह गरे।

साहित्यकार बिना थिङले नेपाली साहित्यमा एउटा उपलब्धि बनेर लेखक हरि ढकालको उदय भएको बताइन्। उनले विमोचनको दिन उत्सव मनाउने समय भएको र विश्लेषण तथा समीक्षा पाठकबाट पछि हुँदै जाने बताईन्। महाप्रश्नमा सर्जक आफैं पनि पात्रहरुमा अभिव्यक्त भएका र कथाहरूमा ग्रामिण जीवनका कर्म र दृश्यहरू राम्रोसँग चित्रण गर्न लेखक सफल रहेका उनले जनाइन्।

लोकार्पण समारोहमा मतिना त्वनाबासुको कलात्मक उद्घोषण रहेको थियो। ११ वटा कथाहरू रहेका संग्रहको प्रकाशन इटर्नल पब्लिकेशनले गरेको हो। पुस्तकका सम्पादक हरिहर तिमिल्सना रहेको छ।

तपाईको बिचार