जुनसुकै धर्म,सम्प्रदाय भए पनि सबैको लक्ष्य मानव सेवा : राष्ट्रपति पौडेल

जुनसुकै धर्म,सम्प्रदाय भए पनि सबैको लक्ष्य मानव सेवा : राष्ट्रपति पौडेल

593

धरान । राष्ट्रपति रामचन्द्र पौडेलले जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य भनेको मानव सेवा नै भएको बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले श्री कृष्ण प्रणामी धर्मशाला निर्माण समितिबाट धरानमा निर्मित धर्मशाला उद्घाटनपछि आयोजित समारोहलाई शुक्रबार यहाँ सम्बोधन गर्दै सो धारणा व्यक्त गर्नुभएको हो ।
“जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य भनेको मानव सेवा नै हो, हरेक धर्म, सम्प्रदायलाई यही रुपमा बुझ्नसके यसले समाजमा सहिष्णुता बढाउन मद्धत पुग्छ भन्ने म ठान्दछु”, उहाँले भन्नुभयो ।
राष्ट्रपति पौडेलले हाम्रा धर्मशास्त्रहरूले पनि सेवालाई अत्यधिक महत्व र प्रधानता दिएको बताउनुभयो । उहाँले भन्नुभयो, वेदव्यासले पनि अठार पुराण रचना गरिसकेपछि यही निष्कर्ष दिनुभएको छ कि “परोपकार पुण्याय, पापाय परपिडनम ।”

हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्घता देख्न सकिने उहाँको भनाइ थियो । राष्ट्रपति पौडेलले यो ऐक्यबद्धताले विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्धत गर्न सक्नुपर्नै पनि बताउनुभयो । “यसका लागि मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक छ, आज भौतिक विकाससँगै आध्यात्मिक चेतना, ज्ञान र जागरणको महशुस वर्तमान विश्वले गरिरहेको छ, आज मान्छे भौतिक विकासभित्र सुख र शान्तिको लागि भांैंतारिहेको यहि कारण हो ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
विश्वमा चरम भौतिक विकासको चाहना र होडवाजी बढेको र यसका कारण समाजमा शान्ति, सुव्यवस्था, आपसी सद्भाव, सहयोगको भावना खस्कदा रहेको उहाँको भनाइ थियो । “यो कुरा हामीले हाम्रै समाजमा पनि अनुभव गरिरहेका छौं, यस्तो अवस्थामा नेपालमा निजानन्द सम्प्रदायले चलाएको आध्यात्मिक जागरण र मानव सेवा अभियानले समाजमा प्रेम, सद्भाव र शान्ति स्थापना गरी सभ्य र सुसंस्कृत समाज निर्माणमा महत्वपूर्ण योगदान पुरयाउनेछ भन्ने मैले विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
राष्ट्रपति पौडेलले हाम्रो वैदिक सनातन हिन्दू धर्म प्राचीनकालदेखि चलिरहेको धर्म भएको र यो धर्मको विराटस्वरुपका कारण यसअन्तर्गत विभिन्न संप्रदायहरूको सृजना हुनु स्वभाविक नै मान्न सकिने पनि बताउनुभयो । उहाँले यस धर्मशाला भवनलाई मानवीय सेवा र भावनाले अभिप्रेरित एउटा अर्कै मन्दिरको स्वरुपमा खडा भएको आफूले अनुभूति गरेको पनि उल्लेख गर्नुभयो  । सो कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की तथा जगद् गुरु श्रीकृष्णमणि महाराजलगायतले पनि शुभकामना ब्यक्त गर्नुभएको थियो ।सो अवसरमा राष्ट्रपति पौडेलले राधाकृष्ण मन्दिरमा आरती पनि गर्नुभएको थियो

तपाईको बिचार

सम्बन्धित खबर