राष्ट्रिय खेलकुद महासंघले बुझायो मन्त्री चौधरीलाई ७ बुँदे ध्यानाकर्षण

राष्ट्रिय खेलकुद महासंघले बुझायो मन्त्री चौधरीलाई ७ बुँदे ध्यानाकर्षण

559

काठमाडौं । नेपाल खेलकुद महासंघले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई खेलकुदसँग सम्बन्धित विभिन्न सात बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । महासंघका कार्यवाहक अध्यक्ष धर्मकुमार श्रेष्ठको नेतृत्वमा मन्त्रालयका गएको टोलीले मन्त्री चौधरीलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

ध्यानाकर्षणपत्रमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तोकिएको मिति टरिसकेकाले सम्पूर्ण खेलजगत खेलाडीलगायत आमनेपाली जनमानसमा निराशा पैदा हुन थालेको हुँदा यथाशीघ्र मिति तोकी १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न माग गरिएको छ । दशौँ राष्ट्रिय खेलकुद सञ्चालन अगाडि राष्ट्रिय खेलकुद परिषदबाट प्रदेशहरूमा पठाइने बजेट उपयुक्त समयमा नपठाई ढिला रकम पठाउँदा खेलाडी छनौट प्रक्रिया प्रभावकारी नहुने भएकोले यथाशीघ्र बजेट पठाउन महासंघले माग गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्को धेरै लामो समयदेखि बोर्ड बैठक बस्न नसकिरहेकाले यथाशीघ्र बैठक राख्न समेत महासंघले अनुरोध गरेको छ ।

त्यस्तै राष्ट्रिय खेलकुद परिषदमा उपाध्यक्ष लगायत रिक्त सदस्य पदहरूमा यथाशीघ्र सहमतिको आधारमा नियुक्त गर्न, नेपाली खेलजगतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू विदेश पलायन हुने सङ्ख्या बढी रहेको हुँदा सो पलायन रोक्न आवश्यक निर्णय गर्न, राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन बजेट कटौती गरिएको हुँदा यथाशीघ्र बजेट व्यवस्था गर्न र राखेप अन्तर्गत रहेका कर्मचारीहरूको समायोजन नभएको र रिक्त कर्मचारी यथाशीघ्र समायोजन र पदपूर्ति गर्न आवश्यक ऐन संशोधन गर्न माग गरिएको छ ।

तपाईको बिचार