मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न स्वीकृति दिएको छैन : प्रधानमन्त्री दाहाल

मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न स्वीकृति दिएको छैन : प्रधानमन्त्री दाहाल

693

काठमाडौँ । मुस्ताङमा विश्वविद्यालय खोल्न सरकारले अनुमति दिएको भनेर गरिएको प्रचारमा सत्यता नभएको प्रधानमन्त्री दाहालको भनाइ थियो । प्रधानमन्त्रीले मुस्ताङको एक स्थानीय तहले विश्वविद्यालय नभई कलेज खोल्नका लागि आग्रह गरेको भन्ने आफूले थाहा पाएको भए पनि नेपाल सरकारको तर्फबाट कहीँकतै स्वीकृति नदिएको बताउनुभयो ।

मुस्ताङको चर्चा आउने बित्तिकै हामी सबै नेपाली संवेदनशील हुने गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यहाँ रहेको खनिजको उपयुक्त प्रयोग गरिए देशमा क्रान्तिकारी परिवर्तन ल्याउन सकिने बताउनुभयो । केही दिन पहिले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न अनुमति दिएको आरोप लगाउनुभएको थियो ।

सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विश्वविद्यालय खोल्न कुनै निर्णय नभएको र त्यसको छानबिन गरिने बताउनुभएको थियो ।  प्रधानमन्त्रीले  मुस्ताङमा मात्रै नभई देशका अन्य स्थानमा समेत महत्त्वपूर्ण खनिज पदार्थ रहेकाले त्यसलाई उपयुक्त रूपमा उपयोग गरिने प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्रीका रूपमा असफल हुने छुट आफूहरूलाई नभएको भन्दै उहाँले देश विकास र अर्थतन्त्रको सुधारका लागि सबै क्षेत्रको तागत लगाइने बताउनुभयो । आफूले अर्थतन्त्रको क्षेत्रमा देखा परेको समस्या समाधानका लागि पहलकदमी लिएको र केही दिनभित्रै नयाँ विश्वासका साथ देश सकारात्मक दिशामा अगाडि बढ्ने उल्लेख गर्नुभयो । निजी क्षेत्रका प्रतिनिधिमूलक सङ्घ संस्था, बैंक, वित्तीय संस्थाका प्रतिनिधि सबैलाई बोलाएर अर्थतन्त्रमा देखा परेको समस्या समाधानका लागि छलफल गरेको प्रधानमन्त्रीको भनाइ छ । उहाँले सबै तह तप्का र क्षेत्रको साझा प्रयासबाट मात्रै मुलुकका सामु देखा परेको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको बिचार

सम्बन्धित खबर