आज साउनको अन्तिम सोमबारः पशुपतिनाथसहित देशभरका शिवालयहरुमा भक्तजनको घुइँचो

आज साउनको अन्तिम सोमबारः पशुपतिनाथसहित देशभरका शिवालयहरुमा भक्तजनको घुइँचो

731
साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा पूजा अर्चनाका लागि आएका भक्तजनहरुको घुइँचो। साउनको सोमबार भगवान शिवको पूजा अर्चना आजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ । तस्बिर : हरिराम भेटुवाल/रासस

काठमाडौं । पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौंको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपतिनाका चारै ढोका सोमबार बिहान साढे तीन बजेदेखि नै भक्तजनका लागि खुला गरिएको छ ।

साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा पशुपतिनाथ मन्दिरमा धेरै भक्तजनको घुइँचो लाग्ने गर्दछ । साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि घुइँचो लाग्ने गर्दछ । दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन मिलाइएको छ ।

यसैगरी आज काठमाडौं उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन् ।

साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार मानिने भएकाले यस दिन शुद्ध जल चढाएमा आशुतोष भगवान् प्रसन्न भई मनोकामना पूरा गरिदिनुहने धार्मिक विश्वास रहेको छ ।

यस अवसरमा आज बिहानैदेखि राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवस्थानलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । देशभरका शिवालयहरुमा पनि भक्तजनको लाम लागेको जनाइएको छ ।

तपाईको बिचार