नागपञ्चमीको मेला भर्न टौदहमा भक्तजनको भीड

नागपञ्चमीको मेला भर्न टौदहमा भक्तजनको भीड

717

काठमाडौँ । काठमाडौँको दक्षिण भेगमा रहेको टौदहमा नागको पूजा गर्न आज भक्तजनको भीड लागेको छ। प्रत्येक वर्ष साउन शुक्लपञ्चमीका दिन लाग्ने मेला भर्न भक्तजनको घुँइचो लागेको हो।नागपञ्चमीका दिन गरिने पूजाले नाग प्रशन्न भई मनोकाङ्क्षा पूरा हुने तथा पारिवारिक सुख शान्ति कायम हुने जनविश्वास छ ।

काठमाडौँदेखि करिब नौँ किलोमिटर दक्षिणमा रहेको उक्त पोखरीमा कर्कोटक नागको बसोबास रहेको र मानव कल्याणका लागि उक्त नाग क्रियाशील रहेको ऐतिहासिक किंवदन्ती पाइने स्थानीयबासी दिपक नेपालले जानकारी दिए ।

प्राचीनकालमा निर्माण भएको पोखरीमा नागको पूजा गर्न काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट भक्तजनको भीड लाग्ने गर्दछ । पोखरी नजिक स्नान गरी धार्मिक अनुष्ठान, पूजा तथा फूल, अक्षतालगायत बारीमा फलेका वस्तु चढाउने प्रचलन छ। जनैपूर्णिमाको दिनमा पनि यहाँ मेला लाग्ने गर्दछ।

देशभरका नाग दहमा आज पूजा 

यसैबीच नागपञ्चमीका दिन हिन्दू धर्मावलम्बीले घरघरमा नागको चित्र तथा तस्बीर टाँस्ने चलन छ। नागलाई देवताका रूपमा पूजा गर्ने प्रचलन हिन्दू धर्मशास्त्रमा छ ।

बिहानै स्नान गरी पवित्र भई नागको चित्र वा मूर्तिलाई गाईको गोबरले टाँस्ने, नागलाई दियो, कलश, गणेशको पूजा गरी दूध, दही, घ्यु, दुबो, कुश, फूल, सिन्दूर, चन्दन आदिले पूजा गरी, धूप, दीप, नैवैद्यसहित प्रार्थना गरी घरको ढोकामा टाँसेपछि आगलागी, चट्याङजस्ता प्रकोपबाट भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

तपाईको बिचार