काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले सरकारले कोदो राष्ट्रिय दिवसको घोषणा गर्ने प्रक्रिया अघि बढाएको बताएउका छन् ।
राष्ट्रिय कृषक समूह महासङ्घ र एशोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नालिस्टस् (अनाज) को आयोजनामा ललितपुरको खोकनामा आयोजित चौथो राष्ट्रिय कोदो दिवसको अवसरमा मन्त्री अधिकारीले कोदोको महत्वका बारेमा सरकार जानकार रहेकाले केही दिनमै कोदोजन्य बाली प्रवर्द्धन गर्न राष्ट्रिय दिवस मनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारीमा रहेको बताए । ‘कोदोको योगदान खाद्य तथा पोषण सुरक्षामा बरदान’ भन्ने नाराका साथ आज कोदो दिवस मनाइएको हो ।
मन्त्री अधिकारीले कोदो उत्पादनलाई प्रोत्साहनका निम्ति मन्त्रालयको चमेना गृहले कोदोका परिकार नियमित बनाउने गरेको भन्दै “केही वर्षअघि दुवै छाक भातको लागि मरिहत्ते गर्नेले आजको दिनमा कोदोको खोले र रोटी खान कहाँ पाइन्छ भनेर धेरै तिर खोज्दै हिँड्ने अवस्था आएको बताए । अहिले अस्वस्थ खाना खाँदा १८ देखि २० वर्षका बालबालिका कुपोषण जस्ता रोगसँग जुध्न बाध्य भएका छन्, पोषणका लागि पनि कोदोका अनाज नियमित खानुपर्छ” उनले भने ।
कार्यक्रममा पोषणको महत्व बोकेको कोदोबालीको प्रवर्द्धनका लागि काम गर्नुपर्नेमा जोड दिइएको थियो । अनाज र महासङ्घले सरकारलाई दिवस घोषणाको निर्णय गराउन माग गर्दै हरेक वर्ष साउन १५ मा दिवस मनाउँदै आएको छ ।
आर्थिक वर्ष २०७६र७७ मा रु सात करोड १५ लाख २७ हजार, २०७७र७८ मा रु सात करोड २२ लाख, २०७९र८० मा रु ७३ करोड २० लाख र आर्थिक वर्ष २०८०र८१ मा मात्र रु ७५ करोड ४४ लाख २२ हजार छ सय ५९ बराबरको कोदो आयात भएको सरकारी तथ्याङ्क रहेको छ ।
तपाईको बिचार