युवा संघले देशभर कम्पन ल्याउने गरी अभियान चलाउनुपर्छः नेता बस्नेत

युवा संघले देशभर कम्पन ल्याउने गरी अभियान चलाउनुपर्छः नेता बस्नेत

1047

काठमाडौँ, ८ असार । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय युवा संघले समग्र युवाहरुको हितको साथ साथै नेपाल र नेपाली जनताको पक्षमा देशैभर कम्पन आउने गरी अभियान चलाउनुपर्ने बताउनुभएको छ ।

केपी ओलीको नेतृत्वमा विकासमा चमत्कार भएको सविस्तार वर्णन गर्दै उहाँले भक्तपुरमा उक्त समय विकास र समृद्धिमा स्वर्णीम युग भएको बताउनुभयो । काठमाडौँमा संघको केन्द्रीय कमिटीले गरेको कार्यक्रमले सरकारलाई कम्पन ल्याउने गरी आयोजना गर्ने र सोही अनुसार सातवटै प्रदेशले पनि गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रियता, जनजीविका लगायतका मुद्धाहरु संघले उठाउनुपर्नेमा जोड दिँदै उहाँले विगतमा संघको नेतृत्वमा भएका राष्ट्रियताको नेतृत्वदायी भूमिकाको बारेमा उल्लेख गर्नुभयो ।

राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश कमिटीको दोस्रो बैठकलाई आज सम्बोधन गर्दै उहाँले प्रीपेड र पोस्पेड भ्रष्टाचारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको उपहार भएको बताउनुभएको छ । वर्तमान गठबन्धनको सरकारले प्रदेश तथा संघीय सरकारमा ‘काले काले मिलेर खाउँ भाले’को नीति लिएर चरम भ्रष्टाचार, अनियमितता र कुशासन बढेको उहाँले दावी गर्नुभयो । प्रदेश सरकारले सत्ता पक्ष तथा प्रतिपक्षी दलका सांसदहरुलाई दिईने बजेट तथा योजनामा समेत विभेद गरेको उल्लेख गर्दै संघका इन्चार्जसमेत रहनुभएका नेता बस्नेतले सत्ताधारी दलका नेताहरु ठेगदार बोकेर प्रदेशका सदरमुकामका होटलहरु कब्जा गरिरहेको आरोप लगाउनुभयो । अहिले हेटौंडा गएर हेर्ने हो भने कांग्रेस र माओवादीका कार्यकर्ताहरुले ठेगदारहरुलाई सेटिङ गरेर लाईनमा राखेका बसिरहेको उल्लेख गर्दै उहाँले प्रदेश सरकारका बजेटहरु जन्मदै भ्रष्टाचार भएर जन्मिन थालेको भन्दै आक्रोस जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘सत्तापक्षका सांसद तथा प्रतिपक्षी दलका सांसदलाई बजेटमा समेत विभेद गरिएको छ । मुख्यमन्त्री तथा अर्थमन्त्रीका जिल्ला तथा क्षेत्रमा मात्र बजेट गएको छ । अन्य क्षेत्रलाई तिरष्कार गरिएको छ । प्रदेश तहको सरकारमा त झनै यतिधेरै विकृति र विसंगति छ, सत्ताधारी दलका नेताहरु ठेगदार बोकेर प्रदेशका सदरमुकामका होटलहरु कब्जा गरिरहेका छन् । तपाई अहिले हेटौंडा जानुभयो भने कांग्रेस र माओवादीका कार्यकर्ताहरुले ठेगदारहरुलाई सेटिङ गरेर लाईनमा राखेका छन् । प्रीपेड र पोस्पेड भ्रष्टाचारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको उपहार हो । मोवाईलमा प्रीपेड र पोस्पेड भने जस्तो । अब भ्रष्टाचार पनि प्रीपेड र पोस्पेड जस्तै हुन थालेको छ । हाम्रो क्षेत्रमा यति करोड पारिदिनुस्, प्रीपेड रकम यति दिन्छौं, पोस्पेड पछि फेरी दिन्छौं भन्ने कुराको सुभारम्भ भएको छ । प्रदेश सरकारका बजेटहरु जन्मदै भ्रष्टाचार भएर जन्मिन थालेका छन् । त्यसैले प्रदेश सरकारका कामहरु उत्कृष्ट छैनन्, त्यही भएर जनतामा निरासा फैलियो । त्यही भएर अब संघीयता चाहिने हो कि हैन ? भन्ने गंभिर छलफलको विषय बनेको छ । सामान्य तया १०÷१५ वर्षको अन्तरमा व्यवस्थाबारे छलफल हुनुपर्छ, आवश्यकता अनुसार अगाडी बढ्नुपर्छ । त्यससँगै राष्ट्रिय स्वतन्त्र पार्टी तथा स्वतन्त्रको नाममा जनतालाई भ्रममा पार्न खोजिदैछ ।’

स्थानीय तहको सरकार स्थायी भएकाले जनताको घृणा कम रहेको उल्लेख गर्दै उहाँले स्थानीय तर तथा संघीय सरकारले प्रत्यक्ष जनतासँग समपुरक रुपमा काम गरिरहेको उल्लेख गर्नुभयो । तर प्रदेश सरकारमा भने जनताप्रति वितृष्ण पैदा हुँदै गएको उहाँको दावी थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै कारण देशमा राजनीतिक अस्थिरता झनै बढेर गएको उल्लेख गर्दै उहाँले संघीय तथा प्रदेश सरकारले राष्ट्रिय राजनीतिकै कारण जनताको काम गर्न नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रचण्डले दुई महिनामा नै गुट परिवर्तन गरेपछि एमालेको नेतृत्वमा प्रदेश सरकार ढलेको छ । कोशी प्रदेशमा बहुमत पुर्याउन नसकेर सत्ता गठबन्धनले ढाल्न सकेका छैनन् । पछिल्लो समय राजनीतिक घटनाक्रम परिवर्तन हुने हल्ला आइरहेको छ । यो सरकार ढल्ने हल्ला चलिरहेको छ । त्यसैले प्रदेश सरकार पनि डराई रहेको छ । किन भने केन्द्रमा प्रचण्ड सरकार ढले भने प्रदेश सरकार पनि ढल्छ ।’

केपी ओली नेतृत्वको सरकारले गरेको विकास र समृद्धिको विश्लेषण गर्दै उहाँले उक्त समयमा भक्तपुरको विकासमा स्वर्णिम युग बनेको उल्लेख गर्नुभयो । अदालतको विषयमा फरक मत राख्न पाइन्छ तर निर्णय मान्दिन भन्न नपाईने उल्लेख गर्दै उहाँले विधिको शासन पान्नुपर्नेमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई सुझाव दिनुभयो । विधिको शासन मान्नुपर्ने उल्लेख गर्दै उहाँले हिन्दी फिल्म ‘आदीपुरुष’मा घुमाउरो भाषामा प्रयोग गरिएको सीता नेपालमा जन्मेको नभई भारतमा जन्मेको भन्ने सन्देश गलत रहेता पनि सम्पूर्ण हिन्दी चलचित्रलाई महानगरपालिकाभित्र बन्देज लगाउनु उपयुक्त नहुने सुझाव दिनुभयो । शैक्षिक मेला, एयरपोर्टको बारलगायतमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले बन्द गराउनु गलत भएको समेत उहाँले बताउनुभयो ।

विधिको शासन र सुशासनको नेतृत्व एमालेले गरेको विस्तृतमा उल्लेख गर्दै उहाँले भ्रष्टाचार नियन्त्रण सुशासनको पक्षमा अरु पार्टीभन्दा एमाले २०औं गुणा अगाडी रहेको दावी गर्नुभयो । बालुवाटार, वाईडबडी, ३३ किलो सुनलगायतका असंख्य ठूला भ्रष्टाचारको छानविन शुरु एमालेको नेतृत्वमा भएको स्मरण गराउँदै उहाँले भ्रष्टाचार नियन्त्रण गर्न मुख्य नेतृत्व गर्ने पार्टी एमालेको विकल्प अन्य हुन नसक्ने दावी गर्नुभयो ।

कार्यक्रममा संघका अध्यक्ष क्षितिज थेवे, उपाध्यक्ष अमित पौडेल, महासचिव सुमन पुरी लगायतले आ–आफ्नो धारणा तथा आगामी दिनमा प्रदेश कमिटीले खेल्नुपर्ने भूमिकाको बारेमा निदेशनात्मक धारणा राख्नुभएको थियो ।

तपाईको बिचार