काठमाडौ । नेपाल प्रज्ञा–प्रतिष्ठानले स्थानीय ज्ञान, जातीय–सांस्कृतिक विविधता र सामाजिक सहअस्तित्व प्रवर्द्धन गर्ने उद्देश्यसहित तेह्रथुमको छथर र संखुवासभाको खाँदबारीमा सामाजिक शास्त्र गोष्ठी सम्पन्न गरेको छ।
तेह्रथुमको छथर गाउँपालिका–६ मा छथर साहित्य समाजको आयोजना तथा नेपाल प्रज्ञा–प्रतिष्ठान सामाजिक शास्त्र विभागको सहकार्यमा सोमबार “छथर क्षेत्रका जातीय/सांस्कृतिक विविधता तथा साहित्यिक–सामाजिक सहअस्तित्व” विषयक एकदिने गोष्ठी आयोजना गरिएको हो।
गोष्ठीमा नेपाल प्रज्ञा–प्रतिष्ठान सामाजिक शास्त्र विभागकी प्रमुख प्राज्ञ डा. कौशिला रिसालले प्रतिष्ठानले “सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान” भन्ने मूल मन्त्रका साथ भाषा, साहित्य, दर्शन, सामाजिक शास्त्र र संस्कृतिका पाँच क्षेत्रमा काम गर्दै आएको जानकारी दिनुभयो। उहाँले अनुसन्धान, गोष्ठी र प्रकाशनलाई मुख्य कार्यका रूपमा अघि बढाउँदै काठमाडौं केन्द्रित गतिविधि देशभर विस्तार गर्ने नीति अनुरूप छथरमा कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
डा. रिसालले स्थानीय रैथाने ज्ञान र सांस्कृतिक पहिचान संरक्षणमा यस्ता गोष्ठी प्रभावकारी हुने उल्लेख गर्दै पूर्वी पहाडी जिल्लाहरूमा निरन्तर कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा डा. कमल तिगेलाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने त्यसमा डा. देवी दुलाल क्षेत्री र डा. धर्म ढकालले टिप्पणी गर्नुभएको थियो। गोष्ठीमा प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई, छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेला र छथर साहित्य समाजका अध्यक्ष दिनेश थापा बेगारीले आ–आफ्नो धारणा राख्नुभएको थियो।
गोष्ठीका क्रममा सङ्गिनी, च्याब्रुङ र धान नाचलगायत सांस्कृतिक नृत्य प्रस्तुत गरिनुका साथै विभिन्न समुदायको परम्परागत भेषभूषासहित झाँकी प्रदर्शन गरिएको थियो। प्रलेस कोसीलगायत संघ–संस्थाका प्रतिनिधि तथा धरान, धनकुटा, तेह्रथुम, ताप्लेजुङ र संखुवासभाबाट आएका स्रष्टाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्रज्ञा–प्रतिष्ठानबाट सामाजिक शास्त्र विभागका सदस्य नारायण शर्मा, लेखा उपप्रमुख अशोक चौरासिया र अधिकृत रबिन्द्र तिम्सेनाको उपस्थिति थियो।
यसअघि माघ २४ गते संखुवासभाको खाँदबारीमा मकालु साहित्य समाजको आयोजना तथा प्रज्ञा–प्रतिष्ठान सामाजिक शास्त्र विभागको सहकार्यमा अर्को एकदिने गोष्ठी सम्पन्न भएको थियो। खाँदबारी नगरपालिकाको हलमा आयोजित कार्यक्रममा ताराबहादुर बुढाथोकीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने रुद्रनाथ दाहालले टिप्पणी गर्नुभएको थियो। कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष सुमन शाक्य, खाँदबारी नगरपालिका उपप्रमुख, अरुण तथा मकालु क्याम्पस प्रमुखसहित शिक्षक, साहित्यिक अभियन्ता र स्रष्टाहरू सहभागी थिए।
प्रज्ञा–प्रतिष्ठानका लेखा उपप्रमुख अशोक चौरासियाका अनुसार यी गोष्ठीहरूले पूर्वी पहाडी भूभागका जातीय–सांस्कृतिक विविधता, स्थानीय ज्ञान र सामाजिक सहअस्तित्वको दस्तावेजीकरण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
तपाईको बिचार