काठमाडौँ । नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल चोकबाट नक्कली नोटसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । मिति २०८२।०९।१६ गते एक हजार दरका नक्कली नोट ९३ थानसहित उनीहरूलाई पक्राउ गरी काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा उक्त कार्यमा संलग्नता देखिएपछि जिल्ला बारा, कलैया उपमहानगरपालिका–२ कबलपुर बस्ने २८ वर्षीय गौरी शंकर यादवलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो । सोधपुछका क्रममा यादवले भारतको मोतिहारी लाला टोल, पतौना क्षेत्रमा डेरा गरी बस्ने २८ वर्षीय रबि कुमार श्रीवास्तवले नक्कली नोट छाप्ने गरेको र नक्कली नोट नेपालमै छाप्न आवश्यक सामग्रीहरू भारतबाट नेपाल ल्याउने योजना रहेको खुलाएका छन् ।
प्रहरीका अनुसार मिति २०८२।०९।२० गते भारतीय नम्बर प्लेट BR05AF2511 रहेको बुलेट मोटरसाइकलको पछाडि सिटमा नक्कली नोट छाप्ने मेसिन, कम्प्युटर तथा अन्य प्रिन्टिङ सामग्रीहरू भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय बाराको समन्वयमा उक्त सामग्रीसहित नियन्त्रणमा लिएको हो ।
हाल यस घटनामा संलग्न व्यक्तिहरूविरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
बरामद सामग्रीहरू
BR05AF2511 नम्बरको भारतीय प्लेट नम्बर भएको बुलेट मोटरसाइकल – १ थान
भारतीय रुपैयाँ ५०० दरका ३१७ थान नक्कली नोट (५ वटा गड्डी)
एल.जी. कम्पनीको मोनिटर – १ थान
Zeb ion ब्रान्डका किबोर्ड, हेडफोन र माउस – १/१ थान
केवल तार – १० थान
VIVO कम्पनीको मोबाइल – १ थान
एच.पी. कम्पनीको कलर प्रिन्टर – १ थान
Fingers ब्रान्डको CPU – १ थान
M-Audio लेखिएको बक्स – १ थान
HP 119A Cyan लेजर टोनर – ८ थान
U.S. 9mm m9-P.BERETTA लेखिएको नक्कली पेस्तोल – १ थान
लालीगुराँसको वाटरमार्क छापिएको १००० लेखिएको कागज १८० थान र सादा कागज ७५ थान गरी जम्मा २५५ थान
तपाईको बिचार