काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राजनीतिक दलहरूभित्रको आन्तरिक असन्तुलन र कमजोरीले समग्र लोकतान्त्रिक प्रणालीलाई नै कमजोर बनाउने बताएका छन्। उनले दलहरूको नीति, भूमिका र आन्तरिक व्यवस्थापन लोकतन्त्रको सुदृढतासँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गरेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै ज्ञवालीले दलहरू आन्तरिक रूपमा विभाजित वा कमजोर हुँदा त्यसको प्रत्यक्ष असर मुलुकको लोकतन्त्रमा पर्ने बताएका छन्। उनले नेपालले विगतमा यस्ता परिस्थितिका नकारात्मक परिणामहरू भोगिसकेको स्मरण गराएका छन्।
उनका अनुसार २०५४ सालमा भएको नेकपा ९एमाले० को विभाजनले हिंसात्मक द्वन्द्वलाई राष्ट्रव्यापी रूपमा फैलिन सहयोग पुगेको थियो भने २०५९ सालमा नेपाली कांग्रेसको विभाजनले प्रजातन्त्र अपहरणका लागि तत्कालीन राजालाई बहाना दिएको यथार्थ इतिहासका तथ्यका रूपमा रहेको छ।
ज्ञवालीले लोकतन्त्रको दीर्घकालीन सुरक्षा र स्थायित्वका लागि राजनीतिक दलहरूको आन्तरिक स्वास्थ्य मजबुत हुनु अनिवार्य शर्त भएको स्पष्ट पारेका छन्।
दलहरूभित्र देखिने असमझदारी, गुटबन्दी र असन्तुलनले अन्ततः लोकतन्त्रलाई नै कमजोर बनाउने उनको भनाइ छ।
लोकतन्त्र, संविधान र राष्ट्रिय हितमाथि चुनौती देखिएको वर्तमान अवस्थामा सबै दलहरूले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै ज्ञवालीले नेपाली कांग्रेसले समेत आफ्ना आन्तरिक समस्याहरू समझदारी र सुझबुझका साथ समाधान गर्ने आशा व्यक्त गरेका छन्।
तपाईको बिचार