झापा, २५ असोज । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले केपी शर्मा ओलीको गृहजिल्ला झापामा पुगेर एमाले सिंह जस्तै पार्टी रहेको उद्घोष गर्नुभएको छ । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको साथै व्यवस्थाको विरुद्धमा लागेका पहिचानवादी तथा केही अराजकतावादीहरुलाई उहाँले स्याल संज्ञा दिनुभएको छ ।
राष्ट्रिय युवा संघ अर्जुनधारा नगरकमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै आज नेता बस्नेतले कोशी प्रदेशबाट शुरु भएको धार्मिक तथा जातीय सद्भाव विथोल्ने तथा पहिचानको नाममा गरिएको अराजक आन्दोलनलाई लक्ष्ती गर्दै नेता बस्नेतले पहिचानवादी तथा केही अराजकहरुले एमालेसँग सिङ जुदाउने दुस्प्रयास नगर्न चेतावनी दिनुभयो । पहिचानवादी तथा राजावादी व्यवसायी दुर्गा प्रसाईले एमालेप्रति गरेको अराजकतालाई नियन्त्रण गर्न सरकारलाई आग्रह गर्दै उहाँले सरकारले नियन्त्रण नगरे राष्ट्रिय युवा संघ आफै सक्षम रहेको उद्घोष गर्नुभयो । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको साथै व्यवस्थाको विरुद्धमा लागेका अराजकहरुलाई ११ हजार भोल्टको करेन्ट दिन राष्ट्रिय युवा संघमा तागत रहेको चेतावनी दिनुभएको छ ।
संघका इन्चार्ज समेत रहनुभएका नेता बस्नेतले भन्नुभयो, ‘नेकपा एमाले सिंह हो भन्ने कुरा कतिपय मान्छेहरुले भुलेका छन् । कहिले काहीँ सिंहले रेष्ट गर्छ । अनि स्यालहरुलाई के लाग्छ भने यो सिंहको डोरी भनि जुँगा उखल्छन् र त्यो बेला सिंहले बाघे झप्पु हान्छ र स्यालहरुको सातो पुत्लो उड्छ । अर्जुनधारा नेकपा एमालेहरुको संगठनको सिंह हो । राष्ट्रिय युवा संघ नेपाल बाघहरुको संगठन हो । र हामीले आराम गरिरहेको समयमा कसैले सुतेको ठानेर जुँगा उखेल्ने हिम्मत गर्छ भने बाघे झाप्पु कसरी हान्छ भन्ने एउटा उदाहरण आजको कार्यक्रम हो । आज तपाईहरुले हाम्रो विरोधीलाई बाघे झप्पु हानेर यो विशाल कार्यक्रम गरेर देखाइदिनु भएको छ । तपाईहरुलाई धन्यवाद । अराजकताको विरुद्ध र सुशासनको पक्षमा तथा शान्तिको पक्षमा केपी बाको जिल्लालगायत कोशी प्रदेश शान्ति र एकताको पक्षमा रहेको छ । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनता, अखण्डताको पक्षमा रहेको छ । नस्लवादी र पहिचानवादी तथा धार्मिक सहिष्णुता विगार्न खोज्ने तत्वहरुलाई एमालेले स्वीकार गर्दैन । यस्ता तत्वहरुले एमालेसँग जुधाउन आए सिङ भाचिने छ ।’
आजको कार्यक्रममा पहिचानवादीको नाममा राजावादी व्यवसायी दुर्गा प्रसाईका केही समर्थकले विथोल्ने प्रयास गरेका थिए । सोही प्रसंगलाई लक्षित गर्दै उहाँले एमालेको कार्यक्रमलाई राज्यले सुरक्षा नदिए आफै सुरक्षा गरेर भएपनि लक्ष्य प्राप्त गर्ने उद्घोष गर्नुभयो । साम्राज्यवादीहरुको ठूलो चलखेल रहेको उल्लेख गर्दै उहाँले सोही चलखेल अनुसार धरानका मेयर हर्क साम्पाङहरुले मन्दिरको अगाडी चर्च बनाएको भन्दै आक्रोस जनाउनुभयो । कुनै पनि धर्मलाई अपमान गर्न नहुने उल्लेख गर्दै उहाँले सामाजिक सद्भाव कायम गर्न सवैले आ–आफ्नो ठाउाबाट विशेष भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।
‘हालसम्म एमालेले प्रतिरक्षामात्र गरिरहेको छ तर हामीले पनि प्रतिरोध गर्यौं भने ११ हजार भोल्टको करेन्ट दिन सक्ने तागत युवा संघमा छ । त्यो ठाउँमा जान हामीलाई वाध्य नपार्नुहोस् ।,’ उहाँले भन्नुभयो, ‘इसाई र हिन्दुहरुबीचमा द्वन्द्व फैलाउन हर्क साम्पाङहरु तल्लिन रहेका छन् । पहिचानवादीको नाममा गाई काटेर हिन्दुहरुलाई अपमान गरिरहेका छन् । प्रचण्डले भारतमा गेरुवस्त्र लगाएदेखी नेपालमा गेरुवस्त्र लगाउनेहरु साधुको भेषमा चोरहरु आएका छन् । नक्कली साधु सन्त जसले मरेको सिनो हामी स्वीकार्दैनौं । कोशीबाट शुरु भएको धार्मिक युद्ध सिराहा हुँदै नेपालगञ्ज पुग्यो ।’
एमालेलाई कमजोर बनाउनेहरुले कसम खाएका नक्कली पहिचानवादी सक्रिय रहेको उल्लेख गर्दै उहाँले संविधान अनुसार आए पहिचानवादीलाई एमालेले स्वीकार गर्ने बताउनुभयो । राजतन्त्रको भूतको फोटो बोकेर शाही गद्धारहरु एमालेलाई चुनौति दिन आइरहेको स्मरण गर्दै उहाँले उक्त समुह देखेर दया लागेको बताउनुभयो । प्रचण्ड बहुमत दिनुहोस्, हामी पहिचानसहितको नामाङ्कन गर्छौ भन्दै देशमा धार्मिक तथा जातीय सद्भाव भड्कान उद्धत रहेको भन्दै उहाँले आक्रोस जनाउनुभयो । जात, धर्म तथा पहिचानको नाममा सद्भाव भड्काउने कुरा एमालेले नसहने उल्लेख गर्दै उहाँले विरता र वौद्धिकता पहिचान नै एमालेको पहिचान भएको स्पष्ट पार्नुभयो ।
विकास र समृद्धिको पक्षमा एमाले रहेको उल्लेख गर्दै उहाँले कोशी प्रदेश एमालेको लालकिल्ला बनाउने गरि लाग्न आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । कोशीमा माओवादीलाई टर्च लगाएर खोज्नुपर्ने अवस्था आएको उल्लेख गर्दै उहाँले कोशीमा कांग्रेस पतन हुँदै गएकाले जनताले पत्याउन छाडेको बताउनुभयो । कांग्रेस–माओवादीले युवाहरुको संगठन एमाले भएकाले सवैले एमालेलाई चुनौति ठानेको उल्लेख गर्दै उहाँले एमालेको शक्तिसँग कसैले नपाप्न चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘ एमालेको शक्तिसँग कसैले नपापुन् । एमाले ७७ वटै जिल्लामा छ । एमालेका नेता तथा कार्यकर्तालाई कसैले छोयो भने तिनको हिसाव किताव ७७ वटै जिल्लाबाट गर्न क्याल्कुलेटर लिएर बसेका छन् । त्यही भएर एमालेका नेता तथा कार्यकर्ताले केही चिन्ता लिनु पर्दैन । एमालेलाई निस्तेज गर्ने जो कोही पनि सच्चिनुहोस्, सच्चिनुभएन भने सक्किनुहुन्छ । युवा संघ र एमालेलाई कसैले लामखुट्टे जस्तै गरी टोक्न आउँछ भने प्याट्ट हान्ने हो, स्प्रे गर्ने हो । प्रचण्डले हिजो बनमान्छे भएर, दाह्रा, नंग्रा देखाई आतंकित बनाई ६४ देखी ७० सम्म स्थापित भएका थिए । आज प्रचण्डको नंग्रा र दाह्रा नेकपा एमालेले खुस्काएर फालेको हो, राष्ट्रिय युवा संघले फालेको हो, युथफोर्सले फालेको हो । प्रचण्डहरुलाई हामी ठिक बाटोमा हिडाउन खोजिरहेका छौं । ठिक बाटोमा नहिड्दा समाप्तीको बाटोमा छन् भन्ने कुरा प्रष्ट छ ।’
एमाले समृद्धिको नेतृत्वमा रहने उल्लेख गर्दै उहाँले केपी ओलीको पालाका आर्थिक तथा विकासका सुचाङ्क फेरी एमालेले सुधारेर जाने प्रतिवद्धता जनाउनुभयो । एमालेले सरकारको नेतृत्व गरेसँगै विकासको आँधीवेरी ल्याउने उद्घोष गर्दै गर्दै उहाँले सवै समस्याको समर्थनमात्र नभई सम्बोधन गर्ने गरी एमाले अगाडी बढ्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘शिक्षक, निर्माण व्यवसायी, कर्मचारी, सहकारी पीडित, बैंक तथा वित्तिय संस्थाहरु लगायतको मागलाई एमालेले समर्थनमात्र गर्ने नभई सम्बोधन गर्नेछौं । केही अराजकहरुले ८ अर्वभन्दा बढि ऋण लिएर बैंकलाई डुवाउनेहरु अहिले भ्रममा पार्दैछन् । पीडित जनताहरु तीनिहरुको पछि नलाग्नुहोस् । हामी समर्थनमात्र हैन, समाधान सहित नेतृत्वमा आउनेछौं । पीडितहरु झिंगाको पछि लागे नालिमा पुगिन्छ । मौरीको पछि हिडे फुलवारीमा पुगिन्छ । त्यसैले पीडितहरु झिंगाको पछि नलाग्नुहोस्, मौरीको पछि लाग्नुहोस् । त्यसैले वित्तिय पीडितहरुलाई एमाले र राष्ट्रिय युवा संघले नेतृत्वदायी भूमिका निर्वाह गर्छ । अरु कुनै अराजकहरुले नेतृत्व गर्दैन । प्रचण्डले खोलेका फाइलहरुको छानविन एमालेले गर्नेछ । एनसीएल, लडाकु, सुन काण्ड पल्टाउँदा कृष्णबहादुर महरा, वर्षमान पुन, नन्दबहादुर पुन, माधव नेपाल गरेको बालुवाटार, आरुजु राणा, लिलामणी, मञ्जु खाँड, प्रचण्ड र नारायणकाजीले लुकाएका सम्पूर्ण हिसावकिताव राख्नेछ ।’
कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवे, उपाध्यक्ष कृष्णहरी केसी, केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य लगायतका पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
तपाईको बिचार