नुवाकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्र र जनताको हितमा काम गर्ने सङ्कल्पका साथ प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेको बताउनुभएको छ ।
पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन समुद्घाटन समारोहलाई आज सम्बोधन गर्नुहुँदै उहाँले निजी तथा सार्वजनिक संस्थासँगको सहकार्यमा सहजरूपमा जनतालाई सेवा उपलब्ध गराइरहेको उल्लेख गर्नुभयो ।
सवारी चालक अनुमति पत्र, राहदानी र राष्ट्रिय परिचयपत्र प्राप्त गर्न नागरिकले बेहोर्नुपरेको परेको हैरानीलाई सहज बनाएको स्मरण गर्दै उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने, समयमा नै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउने जस्ता जनताको पक्षमा धेरै काम भइसकेका छन् । विकृति, बेथिति र भष्ट्राचार नियन्त्रणका लागि दृढताका साथ कठोर कदम चालिरहेका छौँ ।”
नेपालीको शिर उच्च रहने गरी भारत सरकारसँग सम्झौता भएको उहाँले बताउनुभयो । आफ्नो इच्छाअनुसार नै राष्ट्र, जनता, नेपालको आर्थिक उन्नति, विकास र समृद्धिको पक्षमा भारत सरकार र त्यहाँका नेताहरूसँग छलफल भएको उहाँको भनाइ छ । “नेपाल र भारतको सीमामा रहेको लिपुलेक, कालापानी र लिम्पियाधुराको विषयमा जहिल्यै समस्या उत्पन्न हुने गरेको थियो । नेपालका प्रधानमन्त्री र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा अबको दिनमा सीमाको समस्या उत्पन्न हँुदैन भनेर पत्रकार सम्मेलनमार्फत प्रतिबद्धता जनाएका छौँ”, उहाँले भन्नुभयो, “भारत भ्रमणको क्रममा उठाइएका विषयले नेपाल गौरवान्वित छ । उद्योगी व्यवसायी खुसी छन् । इतिहासमा पहिलो पटक राष्ट्रको हितमा काम गर्न पाएकोमा म खुसी छु ।”
तपाईको बिचार