काठमाण्डौँ। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २९औँ वार्षिक साधारण सभा मंगलबार ( २७ असाेज, २०८३) काठमाडौंमा सम्पन्न भएको छ। सभाले कम्पनीको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्नुका साथै बोनस सेयर, नगद लाभांश वितरणलगायतका सबै प्रस्तावहरू पारित गरेको छ।
सभाले सञ्चालक समितिले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य वित्तीय विवरणहरू पारित गरेको हो। त्यस्तै, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित भएको छ।
सभाले आर्थिक वर्ष २०८२/०८३ सम्मको सञ्चित मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ। यसैगरी, कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि स्वीकृत भएको छ। बोनस सेयर वितरणका क्रममा खण्डित सेयर सिर्जना भएमा त्यस्तो सेयर सम्बन्धित सेयरधनीको नाममा जगेडा राख्ने प्रस्तावसमेत सभाले पारित गरेको छ।
बोनस सेयर वितरणपछि कम्पनीको जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र र नियमावलीका आवश्यक दफाहरू संशोधन गर्ने प्रस्ताव पनि पारित भएको छ। संशोधनका क्रममा कम्पनी रजिस्ट्रारको कार्यालयबाट स्वीकृति लिने प्रक्रियामा आवश्यक थपघट वा परिमार्जन गर्नुपर्ने भएमा त्यसका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावलाई समेत सभाले अनुमोदन गरेको छ।
त्यसैगरी, कम्पनीको लगानी रहेका सहायक कम्पनीहरूले निर्माण गर्ने आयोजनाहरूका लागि कर्पोरेट ग्यारेन्टी प्रदान गर्ने प्रस्ताव पनि पारित भएको छ। सभाबाट सबै प्रस्ताव पारित भएसँगै कम्पनीको पुँजी संरचना, लाभांश वितरण तथा सहायक कम्पनीमार्फत आयोजना निर्माणसम्बन्धी निर्णयहरूलाई अघि बढाउने बाटो खुलेको छ।
तपाईको बिचार