काठमाडौं। भुजुङ्ग हाइड्रोपावर लिमिटेडले पाँचौँ वार्षिक साधारणसभा सम्पन्न गर्दै ल प्रबन्धपत्र तथा नियमावली संशोधनसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
सभा काठमाडौंस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहीबार कम्पनीका अध्यक्ष माधवराज आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो।
साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनसहित कम्पनीका सम्पूर्ण वित्तीय विवरणहरू पारित गरेको छ। सभाले असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी स्वीकृत गर्नुका साथै सञ्चालक समितिबाट भएका कामकारबाहीको अनुमोदन गरेको छ।
त्यसैगरी, आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत सभाले पारित गरेको छ। अन्य कम्पनी तथा आयोजनामा लगानी गर्न सक्ने व्यवस्था समेटिएको संशोधनले आगामी दिनमा कम्पनीलाई जलविद्युत् क्षेत्रका सम्भावित अवसर उपयोग गर्न थप सहज बनाउने अपेक्षा गरिएको छ।
विद्युत् बिक्री आम्दानी १६ करोड ९९ लाख रुपैयाँभन्दा बढी:-
लमजुङको क्व्होलासोथार गाउँपालिकामा सञ्चालित ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेसँगै भुजुङ्ग हाइड्रोपावरको विद्युत् बिक्री आम्दानीमा वृद्धि भएको छ। आयोजनाले २०८१ वैशाख ६ गतेदेखि विद्युत् उत्पादन सुरु गरेको हो। आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री हुँदै आएको छ।
कम्पनीले साधारणसभामा प्रस्तुत गरेको विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा विद्युत् बिक्रीबाट १६ करोड ९९ लाख २३ हजार ६०६ रुपैयाँ बराबरको बिलिङ भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस्तो बिलिङ १३ करोड २६ लाख ४२ हजार २७ रुपैयाँ रहेको थियो।
यसअनुसार एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट भएको बिलिङ रकम ३ करोड ७२ लाख ८१ हजार ५७९ रुपैयाँले बढेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब २८.१ प्रतिशत वृद्धि हो। आयोजनाको नियमित विद्युत् उत्पादन र बिक्रीले कम्पनीको आम्दानी विस्तारमा योगदान पुर्याएको देखिन्छ।
एक अर्ब रुपैयाँ चुक्ता पुँजी, सेयर लक–इन अवधि २०८५ सम्म:-
भुजुङ्ग हाइड्रोपावरको कुल चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको छ। यसमध्ये संस्थापक सेयरधनीको ८० करोड रुपैयाँ अर्थात् ८० प्रतिशत र सर्वसाधारण सेयरधनीको २० करोड रुपैयाँ अर्थात् २० प्रतिशत हिस्सा रहेको कम्पनीले जनाएको छ।
आयोजना निर्माणका लागि कुमारी बैंकको अगुवाइमा साङ्ग्रिला डेभलपमेन्ट बैंकको सहभागितामा सहवित्तीयकरणमार्फत कर्जा व्यवस्थापन गरिएको थियो। यस व्यवस्थाले आयोजना निर्माणका लागि आवश्यक वित्तीय स्रोत जुटाउन सहयोग पुर्याएको थियो।
कम्पनीका अनुसार सामूहिक लगानी कोषतर्फको ५० हजार कित्ता सेयरको लक–इन अवधि २०८३ साउन २६ गते समाप्त भइसकेको छ। तर संस्थापक सेयरधनी, आयोजना प्रभावित स्थानीय बासिन्दा तथा कर्मचारीतर्फको सेयरको लक–इन अवधि भने २०८५ माघ २७ गतेसम्म कायम रहनेछ।
विद्युत् बिक्रीबाट आम्दानी बढ्दै गएको अवस्थामा अन्य कम्पनी तथा आयोजनामा समेत लगानी गर्न सक्ने गरी व्यावसायिक दायरा विस्तार गर्ने निर्णयलाई कम्पनीको भावी रणनीतिको महत्त्वपूर्ण पक्षका रूपमा हेरिएको छ। अब कम्पनीले विद्यमान आयोजनाको सञ्चालनलाई प्रभावकारी बनाउँदै नयाँ लगानीका अवसर पहिचान गर्न सक्नेछ। यद्यपि, आम्दानीमा भएको वृद्धि र विद्युत् बिक्रीको बिलिङ रकमलाई खुद नाफासँग समान मान्न मिल्दैन; कम्पनीको वास्तविक नाफा तथा वित्तीय अवस्थाको मूल्याङ्कनका लागि सञ्चालन खर्च, ब्याज खर्च र अन्य वित्तीय विवरणसमेत हेर्नुपर्ने हुन्छ।
तपाईको बिचार