महाधिवेशनपछि छुट्टै भेला गरी निर्णयमाथि प्रश्न उठाउनु दुर्भाग्यपूर्ण : प्रदीप ज्ञवाली

महाधिवेशनपछि छुट्टै भेला गरी निर्णयमाथि प्रश्न उठाउनु दुर्भाग्यपूर्ण : प्रदीप ज्ञवाली

648

काठमाडौँ । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले पार्टीको महाधिवेशनपछि पनि निर्णय नमान्ने र विवादलाई निरन्तरता दिने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ।

सामाजिक सञ्जाल फेसबुकमा सोमबार लेख्दै ज्ञवालीले महाधिवेशन सकिएपछि पनि केही नेताहरू छुट्टै भेला गर्दै निर्णयमाथि प्रश्न उठाइरहनु पार्टीलाई अन्तहीन बहसको क्लबसम्म सीमित गर्ने काम भएको टिप्पणी गर्नुभएको हो।

“महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो। त्यसका निर्णय अन्तिम हुन्छन्,” ज्ञवालीले लेख्नुभएको छ, “त्यसपछि पनि मुद्दा कायमै राख्ने हो भने पार्टी निरन्तर विवादमै अल्झिन्छ। यस्तो हुनुहुँदैन।”

उहाँले एक वर्ष अगाडि नै महाधिवेशन आयोजना गर्नुको प्रमुख कारण नेतृत्वको वैधता, सान्दर्भिकता र स्वीकार्यतामाथि उठेका प्रश्नहरूको समाधान गर्नु रहेको स्मरण गराउँदै महाधिवेशनले ती प्रश्नहरूको स्पष्ट र द्विविधारहित जवाफ दिई नेतृत्वलाई पुनः अनुमोदन गरिसकेको उल्लेख गर्नुभएको छ।

महाधिवेशनपूर्वकै ‘दुई लाइनको संघर्ष’, ‘प्रतिवाद’ र ‘खोक्रो एकता’ जस्ता नारामा अल्झिँदा पार्टी गन्तव्यमा पुग्न नसक्ने ज्ञवालीको भनाइ छ। उहाँका अनुसार छोटो अवधिमा पार्टीलाई तनावपूर्ण अवस्थामा पुर्‍याइए पनि अब लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा, राजनीतिक स्थिरता, सुशासन र समृद्धिको यात्रामा केन्द्रित हुनुपर्ने बेला आएको छ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको “राजतन्त्र पुनःस्थापना हुन सक्छ” भन्ने अभिव्यक्तिप्रति संकेत गर्दै ज्ञवालीले त्यसले आफूलाई उदेक लागेको उल्लेख गर्नुभएको छ। “आफू अभिभावकको भूमिकामा रहँदा लोकतान्त्रिक धारातर्फ जनताको विश्वास किन कमजोर हुँदै गयो भन्ने आत्मसमीक्षा आवश्यक छ,” उहाँले लेख्नुभएको छ।

तपाईको बिचार

सम्बन्धित खबर