पूर्व राष्ट्रपति भण्डारीलाई एक कार्यकर्ताको खुला प्रश्न: तपाई ओलीविरुद्ध असन्तुष्टको चौतारो बन्न खोज्नु भएको हो ? 

पूर्व राष्ट्रपति भण्डारीलाई एक कार्यकर्ताको खुला प्रश्न: तपाई ओलीविरुद्ध असन्तुष्टको चौतारो बन्न खोज्नु भएको हो ? 

1219
काठमाडौं। मलाई थाहा छ मेरो यो पत्र देख्ने बित्तिकै रिसाउनु हुने छ। अनि छानबिन सुरु गर्नुहुने छ। सोधपुछ गर्नुहुने छ – यो पत्र लेख्ने को रहेछ? यो  प्रकाशन गर्ने  सञ्चार माध्यम कसले चलाएको रहेछ?
तपाईँको सोध खोजले मलाई केही फरक पार्ने वाला छैन। किन कि तपाई राजनीतिमा आइसक्नु भएको छ। तपाई पूर्व राष्ट्रपतिको हैसियतबाट एमालेको पूर्व उपाध्यक्षको हैसियतमा झरिसक्नु भएको छ। त्यसैले तपाई एक राजनीतिज्ञ भएको नाताले मेरो आलोचना स्वीकार वा अस्वीकार अथवा प्रतिवाद गर्नुहुने छ कि राजनीति गर्नेहरूको असल चरित्र नै यही हो ।
तपाईँलाई म ५१ सालदेखि चिन्छु । किन कि रहस्यमय दासढुंगा दुर्घटनामा परि मदन भण्डारीको निधन पछि भएको उपनिर्वाचनमा रुँदै तपाईँलाई जिताउन  हिँडेको म एक कार्यकर्ता हुँ। त्यो बेला तपाईँले चाबहिल चौरमा गरेको भाषणमा उफ्रने मध्ये म पनि एक हुँ।  त्यो भन्दा पहिला मैले चिनेको थिइन । म तपाई भनेर त्यो चुनावमा हिँडेको थिइन। म त मदन भण्डारीको निधनमा उहाँ प्रति शोक प्रकट गर्न र दासढुंगा हत्यारा खोज्न तपाईँको पछि लागेको थिएँ। त्यसपछि मात्र तपाईँलाई बिस्तारै नेपाली राजनीति परिदृश्यमा देख्दै आएको  छु।
संयोगवश तपाई जति पटक त्यसपछि चुनाव लड्नु भयो त्यति पटक म तपाईँको मतदाता  भइरहेँ। मतदाता मात्र होइन सक्रिय कार्यकर्ता पनि भइरहेँ। तपाई चुनाव लडेको क्षेत्रमा  विरोधी मात्र होइन पार्टी भित्रका आलोचक समेत बढ्दै गए । तपाईँको पक्ष लिँदा धेरै पटक मैले हप्की खाएको छु।  पार्टीको बैठक र भेलामा तपाईँलाई एउटा कुनाबाट उठेर तपाईँको यो शैली भएन भनेर आलोचना गर्ने मध्येको म  पनि एक हुँ।
तर तपाईँले हाम्रो आलोचनालाई पूर्वाग्रह र गुटबन्दीको पगरी गुथाएर हिड्न् भयो। त्यसै कारण तपाई पटक पटक आफ्नो निर्वाचन क्षेत्रबाट पराजित हुनुभयो। यदि समानुपातिकमा तपाई सांसद नुहुनु भएको  भएर त्यसमा एमाले अध्यक्ष केपी शर्मा ओलीको निगाह नभएको भए तपाईँको माननीय वा सम्माननीय यात्रा ५६ सालमा नै समाप्त हुने थियो।
तपाई यो देशको पहिलो महिला राष्ट्रपति हुनुहुन्छ। यसमा गर्व र सम्मान गर्न लायक विषय छ। तपाई  यो देशको सर्वोच्च पद राष्ट्रपतिमा रहनु भयो। त्यो विषय नेपालको राजनीतिक आन्दोलनमा महिला आन्दोलनमा स्वर्ण अक्षरले लेखिने एउटा इतिहास बनेको छ।
तपाई राष्ट्रपतिबाट बिदा भए देखिनै फेरि राजनीतिमा आउने कुरा गर्न थाल्नु भएको छ। हालै मात्र विराटनगर पुगेर तपाईँले पार्टी राजनीतिमा फर्कने कुरा गर्नुभयो । त्यसले राजनीतिमा एउटा तरङ्ग ल्याएको छ।
तपाई राजनीतिमा आउने किन होला भनेर मैले मेरा मनमा अनेक प्रश्न खोजेँ । तर चित्त बुझ्दो  उत्तर अझै पाउन सकेको छैन। तपाई राजनीतिमा आउनु भनेको पार्टी अध्यक्ष नै बन्ने होला । देशको सर्वोच्च पद ७ वर्ष चलाई सक्नु भयो। अब पार्टीको सर्वोच्च पद अध्यक्ष ताकेर नै राजनीतिमा फर्कन्छु भन्नुभएको होला ।
 संविधान कानुनले तपाईँलाई राजनीतिमा फर्कने बाटो छेकेको छैन। त्यो भन्दा ठुलो कुरा नैतिकता भन्ने पनि त हुँदो हो । फेरि एमाले नेतृत्व असफल भएर तपाइको खोजी पनि त गरिरहेको अवस्था छैन। एमाले चुस्त दुरुस्त सङ्गठन र पार्टी सदस्यले सुसज्जित पार्टी हो। त्यो तपाईँले बनाएको एमाले होइन, एमालेबाट बनिएको तपाई हो। पार्टीको अध्यक्ष बन्न सक्ने एमालेमा दर्जनौँ नेता छन् । केप ओली आफै सक्षम  अध्यक्ष  हुनुहुन्छ।  अनि तपाई राष्ट्रपति भएर सम्मानित भएको मान्छे अब राजनीतिको झिना झप्टीमा किन?
हो अहिले तपाईँलाई केही मानिसहरूले पार्टी भित्रै ओलीविरुद्धको चौतारीका रूपमा प्रयोग गर्न खोजी रहेका छन् । नजिकबाट बुझ्दा तपाईँले यो कुरा स्वीकार गर्नुभएको छ। भित्र भित्रै  ओलीविरुद्ध उकास्नु भएको छ। सार्बजनिक रूपमा  आएका अनेक लाक्षणिक  भनाइहरूले यो कुरा पुष्टि गरेको छ।
पार्टी भित्र मात्र होइन बाहिर समेत तपाईँलाई ओलीविरुद्ध प्रयोग गर्ने अनेक खेल भएका छन् । पार्टी विभाजन गर्ने वामदेव देखि प्रचण्ड सम्म समेटेर तपाईँको नेतृत्वमा कम्युनिष्टहरुलाई एक गर्ने गुलिया तर असम्भव नारा बजारमा छरिएका छन् । सबैलाई थाहा छ केपी ओली जस्तो बलियो  नेतालाई नटेरेर भाँडभैलो गरेका नेपाल प्रचण्ड तपाई भएपछि एकतामा आउँछन् र देशले नेतृत्व पाउँछ भन्नु  चन्द्रमामा धान रोपेर पृथ्वीमा भित्र्याउनु जस्तै हो।
तपाईँले अहिले  उत्तरको सहारा दिएर ओली नेतृत्वलाई बारम्बार तङ गर्नु भएको छ। त्यसै कारण होस चित्त बुझोस् भन्दै  प्रधानमन्त्री ओलीले देशको राज्य संञ्चालमा विपक्षी पार्टीलाई जस्तै तपाईँलाई भाग छुट्ट्याउनु परेको छ। विपक्षी घेरा त ओलीलाई राम्ररी तोड्न आउँछ , तर पार्टी भित्र तपाईँले असन्तुष्टको चौतारो बनेर भागबन्डा गरेर हिस्सा लिएको उदाहरण आजको यो खुल्ला पत्रमा लेखेर साध्य छैन।
एउटा साँचो कुरा भन्न मन लाग्यो मदन भण्डारीको नामबाट तपाई नेपाली राजनीतिमा प्रस्थान गर्नुभएको हो। त्यसै गरी तपाईँको क्षमतालाई प्रवर्द्धन गर्दै तपाईँको हात समातेर प्रधानमन्त्री ओलीले राजनीतिको शिखरमा  पु¥याएको सत्य लुकाउन सकिँदैन।
बैशाली होटेलमा बसेको स्थायी समितिको बैठकमा कात्तिक ७ गते बैठकमा झन्डै झन्डै झलनाथखनाल राष्ट्रपति बनी सक्नु भएको थियो। तर त्यसको भोलिपल्ट कात्तिक ९ गते प्रधानमन्त्री निवास शीतल निवासमा बसको स्थायी समितिको अर्को बैठकमा ओलीले चार्तुय प्रयोग नगरेको भए  तपाई अहिले राजनीतिमा कता हुनुहुन्थ्यो अनुमान गर्न कठिन छ।
त्यसैले अहिले तपाईँले ओलीसँग  भागबन्डा खोज्नु तपाई आफैलाई पनि भित्र पोल्नु पर्ने हो। तपाई  पार्टी भित्र र बाहिर ओलीविरुद्धको असन्तुष्टको चौतारी बन्ने प्रयासमा देखिनु भएको  छ। यसलाई बन्द गर्नुहोला भन्ने एक शुभेच्छुकको सुझाव मात्र हो।
तपाईँलाई विना शर्त सहयोग गरिरहेको अभागी मतादाता 
विवेक शर्मा , बुनपा १०

तपाईको बिचार

सम्बन्धित खबर