काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भ्रष्टाचारविरोधी अभियानको नेतृत्व गर्न तयार रहेको बताएका छन्।काठमाण्डौमा सोमत घिमिरेद्वारा लिखित सामुदायिक समाजवाद पुस्तकको विमोचन कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भ्रष्टाचार विरोधी अभियान चलाउन आवश्यक रहेको बताए।
उनले भने, ‘भ्रष्टाचारविरोधी अभियान, राज्यबाट प्रधानमन्त्री र गृहमन्त्रीले गरेर मात्रै हुँदैन। देशव्यापी रुपमा अभियान चलाउनुपर्नेछ। म त्यसको नेतृत्व गर्न तयार छु। सबैको साथ र सहयोग आवश्यक छ। भ्रष्टाचारविरोध अभियान नयाँ समाजवादी आन्दोलनसँग जोडिन जरुरी छ।
उनले समाजलाई अराजकता र निरंकुशतातिर फर्काउने कसरत भइरहेको भन्दै आफूहरुले स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यताबाट पछि हट्न खोज्ने आफैँभित्र पनि कोही भए उनीहरुलाई सफल हुन दिन नहुने बताए।
उनले संविधानको मर्म र भावनाविपरीत संसद विघटन गरेर देशलाई फेरि एउटा भुमरीतर्फ लैजाने प्रयासका विरुद्ध पुनः एकीकृत हुनुपर्ने विगतको जस्तै संविधान मिच्ने, संसदलाई विघटन गर्ने कसरत हुन दिनु नहुने भन्दै देशलाई फेरि एकपटक प्रतिगमनतिर लैजाने कसरत सफल हुन नपाओस् भन्नेकुरामा सतर्क हुनुपर्ने आवश्यकता रहेको बताए ।
प्रचण्डले भने, ‘हामीले स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यताबाट पछि हट्न खोज्ने हामीभित्रै कसैको मनशाय छ भने त्यसलाई पनि सफल हुन नदिनुपर्ने आवश्यकता छ।’
तपाईको बिचार