केही निश्चित कार्यहरू गर्न, केही मूल्यहरूलाई ग्रहण गर्न वा समूहमा स्वीकृत हुनका लागि निश्चित नियमहरूको पालना गर्न साथीसमूहका सदस्यहरूको सामाजिक दबाव नै दौंतरी दबाव हो। यो साथीहरूको आफ्ना साथीलाई प्रत्यक्ष दबाव वा कुनै व्यक्तिको साथीहरूमा पर्ने प्रभाव हो जसले उनीहरूका धारणा, मूल्य वा व्यवहारहरूलाई कुनै प्रभावकारी समूह वा व्यक्तिका अनुरुप परिवर्तन गर्न अभिप्रेरित गर्दछ। आफ्नो उमेर वा सामाजिक समूहमा रुचाइन वा घुलमिल हुन त्यो समूहले गर्ने काम नै गर्नुपर्छ भन्ने भावना समूहका सदस्यमा हुनुनै एक प्रकारको दौंतरी दबाव हो।
किशोरावस्थामा किशोरकिशोरीहरू आफ्ना आमाबाबुको भन्दा साथी अर्थात् दौँतरीहरूको कुरामा बढी विश्वास गर्ने गर्दछन्। साथीसँगीको कुरामा विश्वास गर्ने, उनीहरूले भनेको मान्ने, सँगै समय बिताउने र कहिलेकाँही जोखिमपूर्ण यौन
व्यवहारमा समेत संलग्न हुने गर्दछन्। यो उमेरमा प्रेमसम्बन्ध कायम गर्न तथा यौनसम्पर्क लगायत विभिन्न किसिमका अनिच्छित व्यवहारहरू (लागूपदार्थ सेवन, यौन दुर्व्यवहार, साइबर बुलिङ्ग, आदि) गर्नका लागि दौँतरीहरूले कर गर्ने गर्दछन्।
दौंतरी दबावको प्रभाव
दौंतरीले किशोरावस्था र यौनिकताका व्यवहारलाई सकारात्मक र नकारात्मक दुबै तरिकाले प्रभाव पार्नसक्दछन । साथी समूहमा नक्कल तथा अनकुरण गर्ने, हेपाइ, मिचाइ,यौनिक हैरानी गर्ने र नकारात्मक दौंतरी दबावका कारणले यौनिक निर्णय र व्यवहारमा नकारात्मक प्रभाव पर्न सक्दछ। किशोरावस्थामा यौनसम्पर्क लगायत विभिन्न किसिमका जोखिमपूर्ण व्यवहारहरू गर्नका लागि दौँतरीहरूको दबाव हुने गर्दछ । यस्ता दबावहरूबाट जोगिन नसकेमा किशोरकिशोरीहरूको जीवनमा अनिच्छित गर्भधारण हुने, विभिन्न यौन सङ्क्रमणहरू हुने, सानै उमेरमा अभिभाकत्व ग्रहण गर्नु पर्ने, वृत्ति विकासमा अवरोध आउने जस्ता अनपेक्षित घटनाहरू हुन सक्दछन् ।
त्यसैगरी समूहमा छलफल हुने, अनुभवहरूको आदानप्रदान हुने, सहयोग र सान्त्वना प्रदान गर्ने जस्ता सकारात्मक दौंतरी दबावका कारण यौनिकताका विषयमा सही निर्णय लिने र सकारात्मक व्यवहार प्रदर्शन गर्न सक्ने हुन सक्दछ। मुख्यतया दौंतरी समूहको प्रभावकारी सदस्यको सोंच र व्यवहारले अन्य सदस्यहरूको किशोरावस्था र यौनिकताका व्यवहारलाई प्रभाव पार्दछ।
दौंतरी दबावको सामना
शिक्षक तथा अभिभावकहरूले दौँतरी अर्थात् साथीहरूको अनुचित दबावमा जोखिमपूर्ण व्यवहारमा नलाग्नका लागि शिक्षा दिनु पर्दछ। यस्ता विषयमा घरमै कुरा भयो भने किशोरकिशोरीलाई समयमै समस्या समाधान गर्न मद्दत मिल्दछ।
यो उमेरमा साथीसँगीको प्रभाव पर्नु सामान्य कुरा हो भन्ने सबैले बुझ्नु पर्दछ।
शारीरिक विकासका कारण साथीसँगीबीच यौनका कुरा हुनु पनि स्वाभाविक हो, तथापि यो उमेरमा यौन व्यवहारहरूबाट टाढा रहनु पनि पर्दछ। किशोरकिशोरीले पनि किशोरावस्था र यौनिकतासम्बन्धी नकारात्मक दौंतरी
दबावलाई चुनौती दिनु पर्दछ किनभने यस्ता दबावका प्रभाव, हेपाइ वा बलमिच्याइँमा परेर यौनिक व्यवहार सम्बन्धी निर्णय गरियो भने त्यसको प्रभाव नकारात्मक हुने सम्भावना धेरै हुन्छ। अनिश्चित गर्भधारण, यौनजन्य संक्रमण, लागुऔषध सेवन, भागी विवाह जस्ता विभिन्न सामाजिक र कानुनी समस्यामा पर्ने सम्भावनाबाट बच्न पनि समयमै नकारात्मक दौंतरी दबावलाई चुनौति दिनु पर्दछ ।
किशोरावस्थामा भोग्न सकिने यौनिकतासम्बन्धी नकारात्मक दौंतरी दबावलाई समयमै पहिचान गरेर प्रतिवाद गर्ने, यौनिक व्यवहारका सम्बन्धमा निर्णय गर्दा सधैं दृढ हुने, नकारात्मक दौंतरी दबावलाई नाइँ भन्ने, विवेकपूर्ण निर्णय लिने, दबाव दिने दौंतरीसँग आफूले कस्तो महसुस गरिरहेको छु भन्ने कुरामा संवाद गर्ने, विश्वसनीय वयस्कसँग सहयोग लिने तथा दौँतरी समूहमा मन र विचार समान हुने साथीसँग मिलेर नकारात्मक दौंतरी दबावलाई सामना
गर्न वा चुनौती दिन सकिन्छ।
पढाइमा समेत ध्यान लगाई विभिन्न सिर्जनात्मक क्रियाकलाप जस्तै खेलकुद, योगाभ्यास, ध्यान, सङ्गीत, नृत्य, साहित्य, आदिमा आफूलाई व्यस्त बनाउँने, असल साथीसँग मित्रता गर्ने तथा अभिभावक र शिक्षकसँग पनि नजिक भई छलफल गर्ने गरेमा नकारात्मक दौंतरी दबावको सामना सहजै गर्न सकिन्छ।
तपाईको बिचार