भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन् समर्थकसँग माफी

भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन् समर्थकसँग माफी

635

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान अन्जिला तुम्बापो सुब्बाले म्यान्मारसँग फाइनलमा हार बेहोरेपछि समर्थकसँग माफी मागेकी छन्। उनले सामाजिक सञ्जालमार्फत भावुक स्ट्याटस लेख्दै, फाइनलमा फेरी चुकेको भन्दै आफूले हार स्वीकार गरी समर्थकहरूसँग माफी मागेकी छन्।

अन्जिलाले लेखेकी छन्,फेरि पनि, हामी फाइनलमा पुग्यौं तर चुक्यौं। कप्तानको रूपमा, म सबै समर्थकहरूसँग माफी माग्न चाहन्छु।उनले १६ हजार दर्शक र करोडौं समर्थकहरूले अपेक्षा गरेको र चाहेको नतिजा दिन नसकेकोमा अफसोस व्यक्त गर्दै माफी मागिन्।

उनले थपेकी छन्,म्यानमार हामीभन्दा धेरै बलियो टोली थियो। पहिलो हाफ राम्रो खेलेका थियौं, तर दोस्रो हाफमा मेरो पहिलो गोलको गल्तीका कारण गोल खान पुग्यौं। तपाईंहरूको समर्थनकै कारण महिला टोलीले यो पहिचान र अवसर पाएको छ। यसले हामीलाई अझ राम्रो गर्न प्रेरित गरेको छ। त्यसैले, आलोचनाभन्दा बढी, हामीलाई अझ धेरै अवसरहरू आवश्यक छन्। यस्तै प्रतियोगिताहरू र राम्रो संरचना भएको घरेलु महिला लिग आवश्यक छ।

अन्जिलाले पछिल्लो वर्षमा तीन वटा फाइनल खेलेको उल्लेख गर्दै,यस्ता प्रतियोगिताहरू निरन्तर भए, एक दिन हामी अवश्य उपाधि उचाल्ने छौंू भनेर विश्वास व्यक्त गरिन्। साथै उनले यो प्रतियोगिता आयोजना गरी अवसर दिएकोमा अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी, सम्पूर्ण विभाग, र टिम स्टाफ सबैलाई धन्यवाद दिएकी छन्। कप्तान अन्जिलाले खेलाडीहरूलाई आलोचना नगर्न समेत अपिल गरेकी छन्।

बुधबार दशरथ रंगशालामा सम्पन्न अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल म्यान्मारसँग २–० गोल अन्तरले पराजित भएको थियो।

फाइनल खेलमा म्यान्मारले खेलको ६२औं र ६४औं मिनेटमा गोल गर्दै २–० को नतिजा निकालेको थियो। पहिलो हाफमा नेपालले उत्कृष्ट फुटबल प्रदर्शन गरेको थियो, तर दोस्रो हाफमा केहि मिनेट सन्तुलन गुमाउँदा म्यान्मारले गोल गर्न सफल भएको थियो।

यससँगै नेपालले पछिल्लो १५ वर्षमा आफ्नो १३औं फाइनलमा पनि हार बेहोरेको हो। यसअघि नेपालले १२ फाइनलमा हार्दा, साफ च्याम्पियसिपको छ वटा फाइनलमा उपविजेता बन्न सकेको थियो। त्यस्तै, सन् २०१०, २०१६ र २०१९ को साग गेम्सको स्वर्ण पदकका लागि भएको खेलमा पनि नेपाल भारतसँग पराजित भएको थियो।

नेपालले साफ च्याम्पियसिपमा ६ पटक २०१०, २०१२, २०१४, २०१९, २०२२ र २०२४ मा फाइनल खेलेको थियो भने साग गेम्समा ३ पटक २०१०, २०१६ र २०१९ मा फाइनल खेलेको थियो। त्यस्तै, नाडेज्दा कप २०१९ मा फाइनलमा उज्वेकिस्तानसँग पराजित भएको थियो भने हिरो वुमन्स गोल्ड कपको फाइनलमा २०१९ मा म्यान्मारसँग पराजित भएको थियो। हालै, २०२४ मा वाफ वुमन्सको फाइनलमा जोर्डनसँग पराजित भएको थियो र यस पटक इन्टरनेसनल वुमन्स च्याम्पियनसिपमा म्यान्मारसँग पराजित भएको हो।

तपाईको बिचार