धनराज गुरुङ र ज्योतिलाई अमेरिकामा व्यवस्थापन गर्ने प्रज्ञा न्यौपानेलाई के कारबाही हुँदैछ ?

धनराज गुरुङ र ज्योतिलाई अमेरिकामा व्यवस्थापन गर्ने प्रज्ञा न्यौपानेलाई के कारबाही हुँदैछ ?

675

विराटनगर । ललितपुरको मितेरी सहकारी संस्थाको १३ करोड रुपैयाँ अपचलनमा जोडिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकै पार्टीको सत्तागठबन्धन भएकाले उनी अहिलेसम्म कारबाहीबाट जोगिइरहँदा यो बीचमा के के बदमासी गरेर पत्नी ज्योति गुरुङलाई अमेरिका पठाइयो र व्यवस्थापनमा संलग्न पात्रलाई के कारबाही हुँदैछ भन्ने सबैलाई जिज्ञासा छ । यसको पछिल्लो केही सूचना हामीलाई प्राप्त भएका छन् । जुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा गुरुङले दुई पटक बयान दिँदा पनि लुकाइएको छ र धनराजले उन्मुक्ति पाउन खोजिरहेको देखिएको छ ।

सिआइबीमा दुईपटक बयान दिएका गुरुङले पत्नी ज्योतिसँग डिभोर्स भएको भनेर बयान दिए पनि मितेरीकै पैसा अपचलनबाट जोगिन र राजनीतिकरुपमा बच्न यसो गरेको केही तथ्यहरु अमेरिकाबाट प्राप्त भएको छ ।

यसका लागि तीन पटक अमेरिका पुगेका गुरुङले तेस्रोपटक खुसुक्क अमेरिका पुगेर पत्नी ज्योतिलाई छोरी छाडेर आएको पाइएको छ । धनराजले यसका लागि आफ्नो स्वकीय सचिव भनेर राजु केसीलाई पनि अमेरिका लगेका थिए । जबकि उनी गुरुङका स्वकीय सचिव थिएनन् ।

प्रेम केसी मात्रै धनराजका स्वकीय थिए । राजु निकट ट्राभल एजेन्सीकै टिकटमा धनराज अमेरिका पुग्दा उनी स्वकीय सचिवको परिचयमा अमेरिका घुमेका हुन् ।

सिआइबीको बयानमा गुरुङले पत्नी ज्योतिसँग सम्बन्ध विच्छेद भएको भने झैँ डिभोर्सपछि छोरी आफूसँग राख्ने भनेका थिए ।

जबकि, उनले हतारमा छोरीको पासपोर्ट बनाएर भिसा लगाएर तेस्रोपटक सुटुक्क अमेरिका पुगेर छोरीलाई छाडेर आएको अमेरिकामा चर्चा छ ।

त्यतिखेर उनीजत्तिका हेभिवेट नेताको अमेरिका भ्रमणबारे कुनै चर्चै भएको थिएन । यति मात्रै होइन, डिभोर्स भएपछि पनि धनराज काठमाडौँमा ५ वर्ष सासुसँगै थिए । सासु छोरी हेर्न बसेकी थिइन् । छोरी अमेरिका उडाएपछि सासु धान्ती गुरुङ पोखरा फर्किएकी छन् ।
अमेरिका गएपछि डिभोर्स
धनराज गुरुङले शक्ति र सत्ताको कतिसम्म दुरुपयोग गरेका थिए भने उनले सन २०२० मा पत्नी ज्योतिलाई अमेरिका लगेर छाडेपछि मात्रै नेपालमा देखाउन डिभोर्स गरेका थिए ।

अमेरिकामा ज्योतिको व्यवस्थापन सहज बनेपछि ३ महिनापछि मात्रै धनराज र ज्योतिको डिभोर्स भएको सिआइबीमा धनराजले भनेकै छैनन् । यसले पनि भन्छ कि धनराज ज्योतिको सम्बन्ध उस्तै थियो, सहकारीको काण्डबाट उम्कन यो सब भएको थियो ।

भन्नलाई चैँ ज्योति भण्डारीले ज्योति गुरुङको ६ करोड रुपैयाँ क्रिप्टो करेन्सीमा लगानी गरेपछि धनराजले सम्बन्ध विच्छेद गरेको भन्ने गरेका छन् ।

अमेरिकामा प्रज्ञाको साथ

नेपालमा हुँदा साधारण चिनजान भएकी मोरङकी प्रज्ञा न्यौपाने पछिल्लो समय अमेरिकामा बसोबास गर्छिन् । उनी एनआरएनए अभियन्ता रवि सिंह बस्नेतका पत्नी हुन् ।

अमेरिका पुगेपछि भने ज्योति गुरुङको प्रज्ञा न्यौपानेसँग गहिरो सम्बन्ध रहेको देखिएको छ । विभिन्न पार्टीदेखि सपिङ मलमा किनमेलमा समेत सँगै देखिने प्रज्ञा र ज्योतिको दुई वर्ष बसाइ सँगै भएको देखिन्छ ।

ज्योतिको नेपालमा भएको रकम सबै प्रज्ञाले नेपाल आएर माइती र परिवार तथा उनका पति रवि सिंह बस्नेतका नाममा राखेर मदत गरेपछि ज्योति र प्रज्ञाको अमेरिकामा अरु प्रगाढ सम्बन्ध बनेको बताइएको छ । यो रकमबारे पनि खोजी भइरहेको बताइएको छ ।

प्रज्ञाले ज्योतिको रकम नेपालका विभिन्न प्लटिङ, हाउजिङ, हाइड्रोपावरमा लगानी गर्नुका साथै प्रज्ञाको विभिन्न बैंक खातामा समेत मोटो रकम रहेको बुझिएको छ ।

अमेरिकामा रेस्टुरेन्टलगायतको व्यवसाय भएका प्रज्ञाले नै अमेरिकामा ज्योतिको रकम व्यवस्थापन गरेर क्यासिनोमा काम लगाएकी थिइन् । ज्योति रेडकर्नर नोटिसमा परेको खबर आएपछि क्यासिनोबाट निकालिएकी ज्योति गुरुङलाई प्रज्ञाकी पति रविकै हालिमुहाली चल्ने यती रेस्टुरेन्टमा पनि जागिर लगाइएको र जोगाउने काम प्रज्ञाले गरेको विषयमा सिआइबीले अनुसन्धान गरिरहेको पाइएको छ ।

शानसौकतको जिन्दगी

क्यासिनोमा जागिरे ज्योति निकालिनुमा क्यासिनोमा रहेका केही नेपालीका आफन्तको पनि मितेरी सहकारीमा पैसा फसेको पाइएको छ ।

यसपछि त्यसको मूल ठग नै क्यासिनोमा जागिरे भएको पाइएपछि उनलाई क्यासिनोले निकालेको हो । पछि प्रज्ञा न्यौपानेलाई नै नेपालमा ज्योतिको करोडौँ रुपैयाँ व्यवस्थापनमा लालच देखाइएपछि अमेरिकामा उनको सेटलमेन्टमा मात्र होइन, नेपालको पैसा आफ्नो खातामा ल्याएर मामिला गुपचुप राख्न पनि प्रज्ञाले सक्दो साथ दिएर बचतकर्ताको करोडौँ रकम व्यवस्थापन भएको पाइएको छ ।

अहिले ज्योति अमेरिकामा शानदार अपार्टमेन्टमा बस्छिन् । उनको महंगो कार छ, छोरी महंगो स्कुलमा पढिरहेकी छिन् । उनको शानसौकत हेर्दा अमेरिकाको रेस्टुरेन्टको जागिरले मात्रै नपुग्ने र नेपालको सहकारीको रकम हिनामिनाकै पैसा खर्च भइरहेको अमेरिकामा रहेका नेपालीहरुले कुरा गर्ने गरेका छन् ।

मनि लाउन्डरिङ गरेर ज्योतिलाई प्रज्ञाले साथ दिएको, क्रिप्टोमा ज्योति भण्डारीले साथ दिएको नतिजा अहिले ज्योति गुरुङको अमेरिका बसाइले पुष्टि गरिरहेको देखिएको छ ।

ज्योति त रेडकर्नर नोटिसमा छिन् नै प्रज्ञाबारे पनि सिआइबीले गरिरहेको अनुसन्धानको दायरामा बढाए धेरै तथ्य चाँडै बाहिर आउने देखिएको छ ।

उनलाई नेपाल झिकाएर अनुसन्धान गर्दा थप विवरण प्राप्त हुने र सिआइबीमा बयान दिएर जोगिइरहेका धनराज गुरुङको पनि लुकाइएका बदमासी बाहिर आउने भएकाले मितेरी सहकारी बचतकर्ताले गहिरो अनुसन्धानका लागि थप दबाब दिन जरुरी छ भने सिआइबीले पनि तत्काल ज्योति भण्डारी र प्रज्ञा न्यौपानेलाई कारबाहीको दायरामा ल्याउन जरुरी देखिएको छ ।

ललितपुरको कुम्भेश्वरमा रहेको मितेरी सहकारीमा ज्योति गुरुङ लेखापाल, कोषाध्यक्ष हुँदै प्रबन्धकसम्म भएकी थिइन् । अपचलन भएको १३ करोड रुपैयाँमध्ये ६ करोड रुपैयाँ क्रिप्टोमा ज्योति बहादुर भण्डारीमार्फत लगानी भएको थियो ।

डिभोर्स भएको पत्नीका कारण संकटमा परेको भनेर जोगिइरहेका धनराज गुरुङको भित्री चर्तिकला चैँ पत्नीलाई अमेरिका पुर्याउने, डिभोर्स दिएको देखाएर जोगाउने र आफू जोगिनेमै केन्द्रित रहेको भन्दै अमेरिकामा रहेका कांग्रेसीजनले पनि चर्चा गर्न थालेका छन् । यसमा साथ दिने प्रज्ञा न्यौपाने र ज्योति भण्डारीलाई पनि रेड कर्नर नोटिसको तयारी गर्न जरुरी छ ।

तपाईको बिचार